सार्कमा नयाँ निर्णय भन्दा पुरानोलाई कार्यान्वयन गर्नुपर्नेमा परराष्ट्रविद्को जोड

काठमाण्डु टुडे २०७१ कार्तिक २९ गते १०:२७ मा प्रकाशित

काठमाण्डु, २९ कात्तिक – परराष्ट्र विज्ञहरुले सार्कमा नयाँ–नयाँ निर्णय गर्दै जानु भन्दा पनि भएका निर्णयहरुको प्रभावकारी कार्यान्वयनको विषयमा ध्यान दिनुपर्ने सुझाव दिएका छन् ।

pararastraरिपोर्टर्स क्लबले शनिवार आयोजना गरेको साक्षात्कारमा प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा दिनेश भट्टराईले सरकारले सार्क सम्मेलनको सम्पूर्ण तयार गरिसकेकोले सफल हुने विश्वास ब्यक्त गर्दै सम्मेलनले सार्क राष्ट्रहरुवीच विश्वासको वातावरण सृजना गर्ने बताए ।

साक्षात्कारमा उनले सार्कमा आउने पर्यवेक्षक मुलुकबाट आउने प्रतिनिधिहरुले पनि सम्मेलनको दौरान पाँच–पाँच मिनेट संबोधन गर्न पाउने ब्यवस्था मिलाईएको भन्दै जनकपुर भ्रमणको क्रममा समेत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनतालाई संबोधन गर्ने स्पष्ट पारे ।

उनले भने–भारतीय प्रधानमन्त्रीले सम्बोध गर्न पाउनुहुँदैन भनेर सरकारले भनेको होईन, उहाँले अभिनन्दपछि सम्बोधन गर्नुहुनेछ । त्यो सम्बोधन कस्तो र कुन रुपको हुने भन्ने कुरा स्थानीय तहबाट हुने कुरा हो ।’’ सबै शिखर राष्ट्रका राष्ट्रप्रमुखहरु मंसिर ९ गते नेपाल आई सक्ने जानकार दिदै उनले सम्मेलनको क्रममा द्धिपक्षीय साईडलाईन बार्ताहरु पनि हुने बताए ।

भट्टराईले शितयूद्धको बेला सुरु भएको सार्कमा द्धिपक्षीय साईडलाईन बार्ताहरुमाझ अविश्वाको अन्त्य हुने दावी गर्दै साईडलाइन वार्ताको क्रममा नेपालले भुटानी शरणार्थीको विषयमा भुटानी प्रधानमन्त्रीसँग कुरा उठाउने जानकारी समेत दिए । उनले भने–द्धिपक्षीय वार्ताको क्रममा उक्त विषय उठछ, त्यसको लागि धुलिखेलमा रिट्रिटको समेत व्यवस्था गरिएको छ ।’

नेपाली काग्रेसकी विदेश विभाग प्रमुख सुजाता कोइरालाले सम्मेलनले अविश्वास अन्त्य गर्ने भन्दै यसको सार्कका सबै मुलुकका राष्ट्र प्रमुखहरुले उपयोग गर्नु पर्नेमा जोड दिईन ।

सम्मेलनबाट साझा एजेण्डाको रुपमा साझा विकासलाई अघि बढाउनु पर्ने भन्दै त्यसकोलागि कनेक्टीभीटी बढाउनु पर्ने बताईन । कोइरालाले यूरोपीयन यूनियन जस्तो सार्कले धेरै गर्न नसक्ने भन्दै अहिलेसम्म सार्कले गरेका घोषणाहरु कार्यान्वयनमा जोड दिनुपर्ने बताईन ।
उनले सबैभन्दा पहिला गरिबी निवारणमा जोड दिनु पर्ने उल्लेख गर्दै गरिबी निवारण भए महिला तथा बालवालिका बोचविखन, लगायतका धेरै अपराध अन्त्य हुने उनको विश्वास थियो ।

कोइरालाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्ककै विकासमा जोड दिएकोेले अब सार्कको विकास हुने विश्वास ब्यक्त गर्दै गरिबी निवारणमा भारतले उत्तरदायीत्व लिनुपर्ने बताईन । सार्क सम्मेलन र मोदीको भ्रमण लगायतका विषयबाट लगानी भित्राउन नेपालले पहल थाल्नु पर्नेमा समेत जोड दिईन ।

परराष्ट्रविद्ध डा. निश्चलनाथ पाण्डेले सार्कले पर्यबेक्षकहरुको भूमिका न्यून बनाएको भन्दै उनीहरुको भूमिका स्पष्ट पार्नु पर्ने सुझाव दिए । उनले शान्ति र समृतिको लागि एकता नारा सार्क लिएपनि विगतमा भएका घोषणालाई कार्यान्वयनमा यो सम्मेलनले जोड दिनु पर्ने उनको सुझाव थियो ।
यूरोपीयन यूनियन र आशियानको सञ्चालन राजनीतिक नेतृत्वले गर्ने तर सार्कको ब्यूरोक्रेसीबाट हुने भएकाले समस्या उत्पन्न भएको भन्दै यसलाई परिवर्तन गर्नु पर्नेमा जोड दिए ।

सार्कमा भारतको भूमिका नेतृत्वदायी हुने स्पष्ट पार्दै सन् १९८५ को सार्कको बडापत्र समेत संशोधन गर्नुपर्ने आवश्यकता औल्याए । पाण्डेले भने–‘सार्कले लोगो समेत परिवर्तन गर्नुपर्छ, किनकी त्यहाँ जम्मा ७ वटा राष्ट्रको मात्रै चिन्ह अंकित छ, अहिले त आठ वटा राष्ट्र भैसके ।’

तमलोपाकी नेतृ एवम नेपाल–भारत महिला मैत्री संघकी अध्यक्ष चन्दा चौधरीले सार्कको यो शिखर सम्मेलनले विकास निर्माणको कुरा उठाउनु पर्नेमा जोड दिदै त्यसको लागि एकतासाथ अघि बढ्नु पर्ने बताईन् ।

उनले जनकपुरका जनताहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबाट धेरै अपेक्षा गरेको भन्दै भारतीय दुतावासको सहयोगमा हुने कार्यक्रममा मोदीले संबोधन गर्र्नेे स्पष्ट पारिन । उनले भनिन्–जनताहरुले मोदीको भाषण सुन्न चाहेका छन्, त्यसलाई रोक्नुहुँदैन । जनकपुरको जानकी मन्दिर परिसर साघुरो भएको कारण मोदीजीले बाह« विघामै सम्बोधन गर्न पाउनुपर्ने चौधरीले स्पष्ट पारिन् ।

नेपाल भारत मैत्री महिला संघको पहलमा जनकपुरमा छात्राहरुलाई वितरण गर्न लागेको साईकल पनि वितरण हुनुपर्ने बताईन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us