पारस र हिमानीबीच पारिवारिक सम्बन्ध टुट्यो, कानुनी सम्बन्धमा सीमित

काठमाण्डु टुडे २०७१ कार्तिक २९ गते २:१३ मा प्रकाशित

paras-himaniकाठमाण्डु, २९ कात्तिक– चार वर्षदेखि थाइल्याण्डको राजधानी बैंककमा बस्दै आएका पूर्वयुवराज पारस शाह र पूर्वयुवराज्ञी हिमानीको सम्बन्ध अब कानुनी रुपमा मात्रै सीमित भएको छ ।
उनीहरु दुईबीचको पारिवारिक र भावनात्मक सम्बन्ध पूर्ण रुपमा टुटिसकेको पारसका साथीहरु बताउँछन् ।
पारस बैंककमा थार्इ युवती कन्निका च्यान्साइसँग बसेका छन् । उनी प्रेमिका कन्निकालाई छोड्नै नसक्ने अवस्थामा पुगेपछि हिमानीसँगको सम्बन्ध करिबकरिब टुटिसकेको अवस्था रहेको छ । प्रेमिकाकै कारण पारस र हिमानीबीचको सम्बन्ध बिग्रँदै गएको छ ।
पारसले फेसबुकबाटसमेत प्रेमिकाको चर्चा गरेका छन् । बुधबार पारसले राखेको फेसबुक स्टाटसमा प्रेमिकासँग माफी मागेका छन् । प्रेमिकालाई अचानक शंका गरिएको भन्दै उनले अफसोच पोखेका छन् ।
कन्निकाको फोटोलाई उनले सेयरसमेत गरेका छन् । स्टाटसको एक ठाउँमा उनले प्रेमिकालाई स्त्री लेखेका छन् । पारसको यस्तो व्यवहारबाट हिमानी निकै दु:खित भएको उनका सहयोगीहरु बताउँछन् ।
पारसले फेसबुकमा हिमानीको चर्चासमेत गर्दैनन्, न त हिमानीले पारसबारे केही लेख्ने गरेकी छन् । बरु, छोराछोरीको तस्वीर राख्ने गरेकी छन् । छोरा हृदयेन्द्र मोटरसाइकल चढेको फोटो केही समयअघि उनले फेसबुकमा राखेकी थिइन् ।
केही समयअघि गाँजासहित पक्राउ परेपछि पारसलाई भेट्न र लिन हिमानीले बैंकक जाने सोच बनाएकी थिइन् । प्रहरीबाट हिरासतमुक्त भएपछि पारसले आफूलाई प्रेमिका कन्निकाले फसाएको फेसबुकमा उल्लेख गरेका थिए । त्यसपछि निर्मल निवासले हिमानीलाई बैंकक पठाउँने र नेपाल ल्याउँने सोच बनाएको थियो ।
हिमानी पनि जान तयार भएकी थिइन् । तर, पारसले कन्निका काठमाण्डु आउन तयार नभएको जनाएपछि पारसलाई नेपाल ल्याउने सोच परिवारले त्यागेका छन् । पारसले आफूसँगै प्रेमिकालाई नेपाल ल्याउन चाहेका छन् ।
राजधानी दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us