
काठमाण्डु, २८ कात्तिक– आवश्यक परे फरक ढंगको विद्रोह गर्नुपर्ने भन्दै एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल रोल्पा भ्रमण छोट्याएर राजधानी फर्केका छन् ।
रोल्पाको राङसी, कोर्चावाङ, माडीचौर र सदरमुकाममा स्थानीयसँग भेट गर्दै दाहालले फरक ढंगको विद्रोहका लाथि तयार रहन आग्रह पनि गरे ।
‘फेरि हिंसात्मक युद्ध होइन, आवश्यक परे फेरि विद्रोहका लागि रोल्पाली जनता तयार रहनुपर्छ’, उनले सर्वसाधारणलाई सम्बोधन गर्दै भने, ‘रोल्पाको भ्रमण गरेपछि मैले उर्जा प्राप्त गरेको छु ।’
उनले रोल्पालीले जहिले पनि अन्यायविरुद्ध संघर्ष गरेको उल्लेख गर्दै एमाओवादीले चाहेको संविधान निर्माण हुन नसके संघर्षमा उत्रनुपर्ने बताए ।
‘काँग्रेस र एमालेले फेरि बेइमानी गर्न थाले, हामीमाथि विगतमा पनि ठूलो दमन गरेका थिए’, बिहीबार बिहान माडीचौरमा उनले भने, ‘विगतमा पनि उनीहरुले संकटकाल लगाएर हाम्रो टाउकाको मूल्य तोकेकै हुन् ।’
उनले विगतको सहमति कार्यान्यवन हुनुपर्नेमा जोड दिए । लिवाङको सभामा दाहालले संघीयतालाई काँग्रेस–एमालेले नामेट पार्न खोजेको आरोप लगाए । राजधानीमा कुरा नमिलेपछि आफू रोल्पा आउनुपर्ने सोच आएको उनले बताए ।
उनले नयाँ तरिकाबाट सबै जिल्लामा संघर्ष गर्ने पनि बताए ।
कान्तिपुर दैनिकमा गंगा बीसीले समाचार लेखेका छन् ।