
काठमाण्डु, २७ कात्तिक–जनसत्ता, सेना र भूमिगत कार्यशैली अप्नाउने नीति लिएका नेकपा–माओवादीका सचिव नेत्रविक्रम चन्द विप्लवले आफू काडमाडौँ बाहिर रहने गरी योजना बनाएका छन् । अध्यक्ष मोहन वैद्यले अगाडि सारेको जनयुद्धको जगमा जनविद्रोहको नीति असफल हुने निष्कर्षमा पुगेका विप्लवले एकीकृत क्रन्तिको रणनीति बनाएका छन् ।
विप्लव समूहको कपिलवस्तुमा जारी भेलाले वामपन्थी, देशभक्त र लोकतान्त्रिक शक्तिको संयुक्त मोर्चा निर्माणमा जोड दिने नीति बनाउँदैछ । भेलाले केन्द्रीय सत्ताको उद्देश्यसहित गाउँ र सहरबाट आआफ्नो विशेषताअनुरुप जनसत्ता गर्दै निर्माण जाने राजनीतिक रणनीति, पुरानो राज्यसत्ताको ध्वस्त गर्ने र नियमित सेना निर्माण गर्ने, सैन्य रणनीति खुकुलो र भद्दापनबाट जोगाउँदै क्रान्तिकारी नेताहरुको संगठनात्मक रणनीति, कार्यकर्ताको भरणपोषण गर्ने, जनतालाई आर्थिक उपार्जनमा सहयोग पु¥याउनेसहित जनवादी अर्थसम्बन्ध निर्माण गर्ने योजना बनाउन लागेको छ ।
कम्युनिस्ट पार्टीहरुसँग भाइचारा सम्बन्ध निर्माण गर्ने, कम्युनिस्ट सरकारसँग सन्तुलित सम्बन्ध कायम गर्ने र पुँजीवादी देशहरुलाई संघर्ष र सन्तुलनको नीतिमा राख्ने अन्तर्राष्ट्रिय रणनीति यो समूहले बनाउन लागेको छ । अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा माक्र्सवादी, लेनिनवादी, माओवादी पार्टीहरुसँग भाइचारा सम्बन्ध निर्माण गर्नेतिर जोड दिने र अन्तराष्ट्रिय कम्युनिस्ट केन्द्र (रिम) लगायतका समितिहरुसँग सहकार्य अगाडि बढाउने नीति समेत समूहले बनाउन लागेको छ ।
अन्नपूर्ण पोस्ट दैनिकबाट