
अफगानिस्तान , २६ कात्तिक – उत्तरी अफगानिस्तानको बादख्सान प्रान्तमाअवस्थित एक प्रहरी चौकीमा केही अज्ञात बन्दुकधारीको आक्रमणमा पाँच प्रहरीको मृत्यु भएको छ ।
सो प्रहरी चौकीमा बुधबार रातभरी सो आक्रमण गरिएको प्रहरी स्रोतले बुधबार जानकारी दिएको छ ।
पहाडी जिल्ला मुन्जानमा रहेको एक प्रहरी चौकीमा सशस्त्र आतङ्ककारीहरुको एक समूहले एके ४७ बन्दुकसहित आँधीको रुप आएर आक्रमण गरेका प्रान्तीय उप प्रमुख अब्देल कादिर सैयादले बुधबार सो जानकारी दिएका छन् ।
सैयादका अनुुसार यस आक्रमणको क्रममा प्रहरीले गरेको जवाफी कारबाहीमा कयौं आतङ्ककारी हताहत भएका छन् ।
यस आक्रमणको तालिवान आतङ्ककारी समूहले जिम्मा लिएका छन् । सन् २०१४ को अन्त्यसम्म अफगानिस्तानमा रहेका नेटोसँग आबद्ध प्रायः सैनिक फर्किसक्ने नेटोआबद्ध सबै देशहरूले निर्णय गरिसकेका हुनाले अफगानिस्तानमा सुरक्षाको जिम्मा अफगान सैनिकमा नै आएको छ ।
त्यसैकारण पछिल्ला दिनहरूमा अफगानिस्तानमा तालिवान विरुद्धको कारबाहीमा पनि अफगान सुरक्षा बलकै सहभागिता रहँदै आएको छ ।
तर पछिल्लो समयमा तालिवानहरूले पनि अफगानिस्तानका विभिन्न स्थानमा सुरक्षा बलमाथिको आक्रमणलाई तीव्र पारेका छन् ।
अफगानिस्तानमा हाल ४६ हजार नेटो सैनिक रहेका छन् । ती मध्ये प्रायः ले आगामी महिना अफगानिस्तान छोड्ने जनाइएको छ ।
यद्यपि १२ हजार ५०० नेटोसैनिक सन् २०१५ मा पनि अफगाननिस्तानमा बाँकी रहने अमेरिका र अफगानिस्तानबीच भएको द्वीपक्षीय सुरक्षा सम्झौता हस्ताक्षर भएको छ ।
ती सैनिकहरुले अफगानिस्तानका सैनिकहरुलाई तालिवान आतङ्ककारीको विरुद्धमा युद्ध रणनीतिलगायत अन्य सुरक्षा सम्बन्धी तालिम दिने बताइएको छ । एएफपी