
नयाँ दिल्ली, २५ कात्तिक – भारतमा स्थायी परिवार नियोजनका लागि महिलालाई आयोजना गरिएको शिविरमा भएको चिकित्सकको लापरबाहीका कारण कम्तीमा पनि आठजना महिलाको ज्यान गएको समाचार छ ।
सो लापरबाहीका कारण अरु २० जना महिला गम्भीर रुपमा बिरामी परेका छन् । सो जानकारी भारतीय सञ्चारमाध्यमले मङ्गलबार दिएका छन् ।
भारतीय राज्य छत्तीसगढमा आयोजना गरिएको सो स्वास्थ्य शिविरमा उक्त घटना भएको बताइएको छ । उक्त शिविर सो राज्यको सरकारी स्वास्थ्य अधिकारीहरुले नै आयोजना गरेका हुृन् ।
भारतको छत्तीसगढमा दुई दिनमात्र अघि सो शिविरको आयोजना गरिएको र त्यसमा सयौँ महिला सहभागी भएका थिए ।
उक्त कार्यक्रममा सहभागी भएकामध्ये अरु २० जना गम्भीर रुपमा बिरामी परेका छन् । परिवार नियोजनाका क्रममा भएको शल्यक्रियामा लापरबाही हुँदा ती महिलाको मृत्यु भएको समाचारमा जनाइएको छ ।
सो घटनाका बारेमा छानबीन गर्न छत्तीसगढ राज्यको स्वास्थ्य विभागले तीन सदस्यीय एक छानबीन समिति गठन गरेको छ ।
छत्तीसगढ राज्यका स्वास्थ्यमन्त्री अमार अग्रवालको गृह जिल्लामा नै सो स्वास्थ्य शिविरको आयोजना गरिएको थियो । गएको शनिबार सो शिविरको आयोजना गरिएको थियो ।
भारतीय सरकारको जनसङ्ख्या नीति बमोजिम उक्त शिविरको आयोजना गरिएको हो । स्थायी परिवार नियोजनमा सहभागी भएका महिलाले एक हजार ४०० भारतीय रुपैयाँ पाउने गर्छन् ।
काँग्रेस नेता दिग्बिजय सिंहले सो घटनाको विरोध गर्दै उक्त लापरबाहीमा संलग्न अधिकारीमाथि कडाभन्दा कडा कारबाही गर्न माग गरेका छन् ।
अल इण्डिया काँग्रेस कमिटीले स्वास्थ्यमन्त्री अमारको राजिनामाको माग गरेको छ । यसलाई सर्वसाधारण नागरिकमाथिको हँदैसम्मको लापरबाही र अन्याय हो भन्दै मन्त्रीले तत्कालै राजिनामा दिनुपर्ने उसले बताएको छ । सिन्ह्वा