
एजेन्सी– हङकङमा सरकारविरोधी सैयौं प्रदर्शनकारीले मार्च पास गरिरहेका छन् । प्रजातन्त्र पक्षधर भनिने प्रदर्शनकारीले सन् २०१७ मा हुने हङकङको नेतृत्व चयनको निर्वाचनमा चीनको उमेदवार मात्रै उठ्न पाउने फैसलाको विरोध गरिरहेका हुन् ।
प्रदर्शनकारीहरूले चीनसँग सोझै कुरा गर्न चाहेको समाचार माध्यमहरूले जनाएका छन् । आइतबार भने सरकार समर्थक प्रदर्शनकारीले पनि जुलुस निकालेका थिए ।
हङकङमा पछिल्लो छ हप्तादेखि प्रजातन्त्रको समर्थनमा चीन विरोध प्रदर्शन भइरहेको छ । यता हङकङका मुख्य कार्यकारी प्रमुख सिवाई लेंगालाई प्रदर्शनकारीहरूलाई नियन्त्रण गर्न चिनियाँ राष्ट्रपति शि जिनपिङको समर्थन रहेको बताइएको छ ।
लिंग यतिखेर बेइजिङमा छन् । यता हङकङ प्रशासनले प्रदर्शनकै कारण कुनै नयाँ निर्णय लिने सम्भावना नरहेको समाचार स्रोतले बताइरहेका छन् । प्रदर्शनकारीहरू भने सोझै चिनियाँ राष्ट्रिय नेतृत्वसाँग कुराकानी गर्न चाहेका छन् ।
सन् १९९७ मा ब्रिटेनबाट हस्तान्तरण भएपछि हङकङ चीनको स्वायत्ता प्रदेशका रुपमा रहेको छ र केही सीमासम्म यो स्वायत्त प्रदेश पनि हो ।