
काठमाण्डू, २४ कात्तिक–उनीसँग स्क्रिन सेयर गर्न प्राय: नायिक लालायित हुनु स्वभाविक हो । उनी भने धेरैजसो नयाँ नायिक भित्र्याउन कहलिएका छन् । पुराना वा चल्तिका नायिकालाई खासै वास्ता नगर्ने सलमान खानसँग यतिबेला दीपिका पादुकोणले फिल्म खेल्ने इच्छा देखाएकी छन् ।
दीपिका अहिलेकी हिट नायिकको रुपमा दरिएकी छन् । ‘ए जवानी हे दिवानी’, पछि रिलिज उनका छ फिल्ममध्ये पाँचवटा त सय करोड क्लबमा प्रवेश गरिसकेका छन् । तिनमा शाहरुख खानसँग दुई, रणवीर र रजनीकान्तसँग एक एक छन् । शाहरुखकै ‘ओम शान्ति ओम’मार्फत बलिउड प्रवेश गरेकी दीपिकाले अहिलेसम्म सलमानसँग भने काम गरेकी छैनन् । दीपिका सलमानसँग फिल्म खेल्ने भाग्य कहिले जुर्ला भनेर बसेकी छन् ।
त्यसो त बजारमा दीपिकाले सलमानसँग काम गर्न अस्वीकार गरेको हल्ला पनि नचलेको होइन । तर उनले ‘किक’मा सलमानसँग स्क्रिन सेयर गर्न नमानेको भन्ने हल्लालाई ठाडै अस्वीकार गरेकी छन्, ‘म को हुँ र कसैलाई इन्कार गर्ने ? कसैसँग खेल्न अस्वीकार गर्ने न त मेरो शक्ति नै छ न त्यो उचाइ नै बनाएकी छु । मैले कहिल्यै सलमानसँग काम गर्दिन भनेकी छैन । वस्तबमा क त उहाँसँग काम गर्न व्यग्र छु । तर के गर्नु सबै फिल्ममा कोसँग काम गर्ने भन्ने हाम्रो वशको कुरो होइन ।’
सलमानसँग काम गर्न यति लालायित भएको बाहिरिएपछि हिट नायिकका लागि सलमानको मन पग्लेला कि ?
कान्तिपुर दैनिकबाट