
काठमाण्डु, २१ कात्तिक – म्युजिक भिडियो तथा चलचित्र निर्देशक आलोक नेम्वाङको सार्वजनिक जीवन हँसिलो थियो, उनी मान्छेसँग भद्र व्यवहार गर्थे । तर, उनी भित्रभित्र रोएर बाँचेका रहेछन् भन्ने रहस्य आत्महत्यापछि मात्रै खुलेको छ ।
बिहीबार आफ्नै अपार्टमेन्टामा झुण्डिएको अवस्थामा फेला परेका नेम्वाङका साथबाट प्रहरीले अनुसन्धानका लागि लिएका कागजपत्रमध्ये सुसाइड नोट पनि रहेको छ, जसमा उनले ‘रोई रोई बाँच्नुभन्दा हाँसी हाँसी मर्नु बेस’ लेखेको प्रहरी स्रोतले जनाएको छ ।
प्रहरीले भने उनको हत्या हो या आत्महत्या भन्नेमा अनुसन्धान गरिरहेको बताएको छ ।
उनले ‘सानो संसार’ बाट चलचित्र निर्देशन थालेका थिए भने ‘कोही मेरो’ र ‘अझै पनि’ निर्देशन गरेका छन् । अमेरिकामा उच्च शिक्षा लिएर फर्केपछि आलोकले नेपाली टेलिभिजन मिडियामा समेत काम गरेका थिए । पछि म्युजिक भिडियो निर्देशकका रुपमा उनलाई चिनिन थाल्यो । उनले दर्जनौं म्युजिक भिडियोको निर्देशन गरेका छन् ।
शान्त स्वभावका आलोक एकान्तप्रिय थिए । उनी घरपालुवा जनावरका पनि सौखिन थिए । उनको घरमा पाँच कुकुर, बिराला थिए ।
आलोकको आत्महत्याले धेरै कलाकार तथा चलचित्रकर्मीलाई स्तब्ध बनाएको छ । शुक्रबार अन्तिम श्रद्धाञ्जलीका लागि नेपाल प्रज्ञा प्रतिष्ठानमा उनको शव राखिएको थियो । सुसाइड नोटमा ‘हाँसी हाँसी मर्नु बेस’ लेखेका आलोकको मृत्युले थुप्रै कलाकारहरुलाई भने रुवाइदियो । श्रद्धाञ्जली दिन आएका चलचित्रकर्मी, अभिनेत्रीहरु प्रज्ञा परिसरमा भक्कानिएका थिए । आलोकको शव भने हँसिलो मुद्रामा थियो ।
शुक्रबारै उनको पशुपति आर्यघाटमा अन्तिम संस्कार गरियो ।