काठमाण्डु, १७ कात्तिक– केन्द्रीय राहदानी विभागले आजदेखि दुई सत्र गरी सेवा दिन सुरु गरेको छ । विभागले हरेक दिन बिहान सात बजेदेखि १२.३० सम्म टोकन वितरण गर्ने र सो दिन टोकन पाउनेलाई सोही दिन सेवा दिने भएको छ ।
प्रशासन सुधार कार्यान्वयन तथा अनुगमन समितिको सिफारिसमा विभागले सेवाग्राहीलाई सहज रुपमा सेवा प्रदान गर्ने ध्येयका साथ दुई सत्रमा कार्यालय सञ्चालन गरिएको हो ।
प्रशासन सुधार कार्यान्वयन तथा अनुगमन समितिको सिफारिसमा विभागले सेवाग्राहीलाई सहज रुपमा सेवा प्रदान गर्ने ध्येयका साथ दुई सत्रमा कार्यालय सञ्चालन गरिएको हो ।
विभागले दैनिक करिब चार हजार जनालाई सेवा प्रदान गर्दै आएको छ । हाल सामान्य अवस्थामा रु पाँच हजारमा र तत्कालका लागि रु १० हजारमा राहदानी पाउन सक्ने व्यवस्था छ ।
सन् २०१० डिसेम्बर २६ देखि यन्त्रले पढ्ने राहदानी (एमआरपी) वितरण सुरु गरेकामा २०१४ को सेप्टेम्बरसम्म २४ लाख ४२ हजार नेपालीले यस्तो राहदानी प्राप्त गरिसकेका छन् ।
हालसम्म करिब १० लाख हस्तलिखित राहदानी विस्थापित भइसकेका छन् भने अझै १५ लाख राहदानी हस्तलिखित रहेका छन् । अन्तर्राष्ट्रिय हवाई उड्डयन सङ्गठनका अनुसार सन् २०१५ को नोभेम्बरपछि यन्त्रले पढ्ने राहदानी नलिएकालाई कुनै पनि मुलुकको भ्रमण गर्न नपाउने व्यवस्था गरेका कारण एमआरपी लिनैपर्ने बाध्यता रहेको छ ।
हाल दैनिक पाँच हजार राहदानी तयार गर्न सक्ने विभागको क्षमता रहेको भएपनि जनशक्ति तथा स्रोतसाधनको अभावमा प्रभावकारी काम हुन नसकेको भन्दै प्रशासन सुधार कार्यान्वयन तथा अनुगमन समितिका संयोजक कृष्णहरि बाँस्कोटाले तत्काल समस्या समाधान गर्न निर्देशन दिए ।
संयोजक बाँस्कोटाले राहदानी लिन नागरिकता, तस्बिर, फारम, पुरानो राहदानी र जिल्ला प्रशासन कार्यालयको सिफारिस चाहिने वर्तमान स्थितिलाई सरलीकरण गरी एकद्वार पद्धति लागू गर्नसमेत जोड दिएका थिए ।
पूर्व सचिव बाँस्कोटाले ७५ वटै जिल्ला प्रशासन कार्यालयमा राहदानी वितरणको व्यवस्था गर्नसके विभागमा भीड कम हुने बताउँदै जिल्ला प्रशासन कार्यालयको क्षमता विस्तार गर्नुपर्ने बताए ।
आजदेखि हरेक दिन बिहान सात बजेदेखि साँझ ६.३० बजेसम्म राहदानी वितरणको काम दुई सत्रमा सञ्चालन हुने र सेवाग्राहीलाई सहज रुपमा सेवा प्रदान गरिने विभागको भनाइ छ ।
पूर्व सचिव बाँस्कोटासहित परराष्ट्र मन्त्रालयका कामु सचिव शङ्करदास वैरागी, प्रधानमन्त्री कार्यालयका सहसचिव जगन्नाथ देवकोटा र राहदानी विभागका महानिर्देशक लोकबहादुर थापाले दुई सत्र सुरु भएकामा खुसी व्यक्त गरे ।
रासस