
वीरगंज, १७ कात्तिक– मधेसी जनअधिकार फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादवले कांग्रेस, एमाले र राजावादी शक्तिले जबर्जस्ती संविधान जारी गर्न खोजे आन्दोलनमा जाने चेतावनी दिएका छन् ।
यादवले कांग्रेस र एमालेले २०४७ सालको संविधान नै ब्युँताउने खेल रचिरहेको समेत आरोप लगाए । पर्साको वीरगंजमा सोमबार भएको पत्रकार सम्मेलनमा उनले स्वायत्त मधेश प्रदेश बनाउन माग समेत गरे ।
उनले कांग्रेस, एमाले र राप्रापा नेपालले विगतका आन्दोलनपछि भएका समझदारी र सम्झौताहरुलाई उल्ट्याएर आफू अनुकूलको संविधान जारी गर्न खोजेको बताए । ‘पहाड–मधेसलाई जबर्जस्ती मिलाएर संघीयतामा जान खोज्ने हो हामीसँग आन्दोलनमा जानुको विकल्प हुने छैन,’ अध्यक्ष यादवले भने, ‘सबै जातजाति, भाषा, धर्म, वर्ग, लिंग र भूगोलका आधारमा संघीय व्यवस्था निर्माण गर्नुपर्छ ।’
समयमै संविधान जारी हुन नसक्नुमा कांग्रेस–एमाले नै जिम्मेवार रहेको यादवले आरोप लगाए ।