ढाका, १७ कात्तिक– बंगलादेशी समाज कल्याण मन्त्री मोहसिन अलीले नेपाल र बंगलादेशका समस्या एकै प्रकारका भएकाले मिलेर समाधान गर्नुपर्नेमा जोड दिएका छन् ।
ढाकामा आइतबार सम्पन्न प्रथम अन्तर्राष्ट्रिय आजीविका सम्मेलन (इन्टरनेसनल करियर समिट) मा सहभागी नेपाली टोलीलाई सम्बोधन गर्दै मन्त्री अलीले नेपाल र बंगलादेशको अर्थतन्त्रमा समानता भएकाले सहकार्य आवश्यक भएको बताएका हुन् ।
‘दक्षिण एसियामा व्याप्त आतंकवादलाई पनि हामी सबै मिलेर जरैदेखि फ्याँक्नुपर्छ,’ मन्त्री अलीलाई उधृत गर्दै नेपाली टोलीका सदस्य सुवास मल्लले ‘काठमाण्डु टुडे’लाई भने, ‘मिलेर लड्न सकेनौ भने संसारको सबैभन्दा सम्भावना रहेको क्षेत्र तहसनहस हुन सक्छ ।’
नेपाल सहित १२ देशका युवाहरूको सहभागितामा युनाइटेड इन्टरनेशनल युनिभर्सिटीमा सम्पन्न सम्मेलनलाई सम्बोधन गर्दै बंगलादेश बैंकका गभर्नर डा. अतिउर रहमानले विकाशील देशहरूमा व्याप्त बेरोगारी र गरिबीको समाधान गर्न दिगो तथा समावेशी समृद्धितर्फ लाग्नुपर्नेमा जोड दिए । उनले बजारको माग दिनानुदिन परिवर्तन भइरहेकाले त्यसलाई पूर्ति गर्न सक्ने गरी तयार हुन पनि युवाहरूलाई सुझाए ।
समापन समारोहलाई बंगलादेश बैंकका डेपुटी गभर्नर शितांसुकुमार चौधरी, न्युजिल्यान्डका लागि बंगलादेशका कन्सुलर नायज अहमद, युनाइटेड इन्टरनेसनल युनिभर्सिटीका उपकुलपति प्रा.डा. मोहम्मद रिजवान खान, कार्यक्षेत्र सिप विकास प्रतिष्ठान, न्युजिल्यान्डका उपाध्यक्ष मोहम्मद वासिमुल बारीलगायतका अतिथिहरूले पनि बोलेका थिए ।
नेपाली टोलीले विश्वविद्यालयका उपकुलपति तथा सम्मेलन आयोजक कमिटिका संयोजक प्रा.डा. खान र मन्त्री अली दुवैलाई ‘बुद्ध नेपालमा जन्मेका हुन्’ लेखिएको बुद्धमूर्ति उपहार दिएको थियो ।