
एजेन्सी – ‘अर्धसत्य’, ‘सडक’ जस्ता सिनेमामा खलनायकको भूमिका निर्वाह गरेका चर्चित भारतीय अभिनेता सदाशिव अपरापुरको आइतबार साँझ निधन भएको छ ।
६४ वर्षको उमेरमा मुम्बईको एक अस्पतालमा अपरापुरको निधन भएको हो । हिन्दी र मराठी फिल्म उद्योगमा लोकप्रिय अभिनेताका रुपमा स्थापित अमरापुरको निधनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि दुःख व्यक्त गरेका छन् ।
‘एउटा बहुआयामिक अभिनेताका रुपमा हामी अमरापुरकरलाई सम्झिरहनेछौं, उनको परिवारलाई मेरो गहिरो समवेदना छ’, प्रधानमन्त्री मोदीले आफ्नोा ट्वीटरमा लेखेका छन् ।
अमरापुरकरले दुईपटकसम्म फिल्म फेयर अवार्ड प्राप्त गरेका थिए । सन् १९८४ को फिल्म ‘अर्धसत्य’का लागि उत्कृष्ट सहायक अभिनेता र ‘सडक’ फिल्मका लागि उत्कृष्ट खलनायक विधामा अवार्ड हासिल गरेका थिए ।
उनका ‘आँखे’, ‘इश्क’, ‘कुल्ली नम्बर १’, ‘गुप्त’ लगायतका फिल्म चर्चित छन् । उनको अन्तिम फिल्म ‘बम्बै टाकिज’ थियो ।