धनुषामा बस दुर्घटना, २१ जना घाइते

काठमाण्डु टुडे २०७१ कार्तिक १७ गते ६:१६ मा प्रकाशित

सिरहा, १७ कात्तिक –पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषाको गोदारमा आइतबार बेलुका भएको बस दुर्घटनामा २१ जना घाइते भएका छन् । घाइते मध्ये ६ जनाको अवस्था गम्भीर रहेको छ ।

जनकपुरबाट राजबिराजको लागि छुटेको स १ ख ५८४ नम्बरको यात्रुवाहक बस अनियन्त्रित भई आइतबार बेलुका धनुषाको गोदार १ मा दुर्घटना भएको हो ।

दुर्घटनामा बसका चालक लहान १ का ३० वर्षीय रामचन्द्र शर्मा, गरहा ५ का ५० वर्षीय रामअवतार दास, सोठीयाइन ९ का ३५ वर्षीय सुरज चौधरी र धनुषा रमदैयाका ३४ वर्षीय बिन्देश्बर मण्डल गम्भीर घाइते भएका छन् ।

त्यस्तै गोलबजार ६ का ८ वर्षीय आकृति साह, गोदारका ३० वर्षीय अम्बिका पोखरेल र भारत बिहारका १० वर्षीय आदित्य मरान, मिर्चैया ६ मटियर्बाका २५ वर्षीय जयकिशोर ठाकुर, ५० वर्षीय नथुनी ठाकुर, १९ वर्षीय कोमल ठाकुर, २५ वर्षीय रुबि साह, ५० वर्षीय हलसीदेवी साह, मलहनिया बस्ने शीतल श्रेष्ठ र उनका श्रीमती पनि घाइते भएकी छन् ।

दुर्घटनामा परी अवस्था चिन्ताजनक भएका ब्रहमपुरी ३ बस्ने ३५ वर्षीय दीपेन्द्र महतो, बरहरामाल ५ बस्तीपुरका ज्ञानु यादव र पानबारी ९ का २९ वर्षीय शंकर यादवको स्थानिय स्तरमा उपचार हुन नसकेपछि थप उपचारका लागि विराटनगर पठाइएको गोदार प्रहरीले जनाएको छ ।

गोदार प्रहरीका अनुसार घाइतेमध्ये १० जनाको फुलकुमारी महतो मेमोरियल अस्पताल कर्जन्हा, ८ जनाको मिर्चैयामा रहेको रेखा नर्सिंग होम र ३ जनाको जनकपुरमा उपचार भइरहेको छ ।

दुर्घटनामा परेको बस प्रहरी चौकी गोदारको नियन्त्रणमा रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us