बस दुर्घटनाका मृतकको सम्झनामा इलाम बन्द

काठमाण्डु टुडे २०७१ कार्तिक १७ गते ४:१२ मा प्रकाशित

इलाम, १७ कात्तिक पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको बस्तीपुरस्थित बसामाडीमा  शनिबार बिहान भएको बस दुर्घटनामा ज्यान गुमाएका जिल्लाबासीको सम्झनामा सोमबार इलाका बजार, कलकारखाना, उद्योगधन्दा र विद्यालय बन्द गरिएका छन् ।
दुर्घटनामा मृतक १० मध्ये इलामका मात्र आठ जना परेका थिए । दुर्घटनामा इलाम नगरपालिका–३ की रक्षा श्रेष्ठ, इलाम नगरपालिका–२ की सुजाता काफ्ले, इलाम नगरपालिका–४ की इसा कार्की, इलाम नगरपालिका–८ का रोशन भट्टराई, नामसालिङका मिलन अधिकारी र आस्था तोलाङ्गीको मृत्यु भएको थियो ।

इलाम उद्योग वाणिज्य संघकी अध्यक्ष सुशीला सापकोटाले मृतकको सम्झनामा मध्याह्न १२ बजेसम्म बजारका पसल र होटल बन्द गरी शोक मनाउने जाकारी दिइन् ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र नेपाल शिक्षक युनियन इलामले पनि मृतकको सम्झनामा सदरमुकामसहित जिल्लाभरका सम्पूर्ण सामुदायिक तथा निजी विद्यालय बन्द गरेका छन् । युनियनका जिल्ला अध्यक्ष पूर्णप्रसाद गौतम र कुमार भक्तराजद्वारा संयुक्त रूपमा हस्ताक्षरित विज्ञप्तिमा विद्यालय बन्दको घोषणा गरिएको छ ।

होटल एसोसिएसन इलामले पनि मृतकको सम्झनामा आधा दिनसम्म होटल बन्द गर्ने निर्णय गरेको छ । काठमाण्डुबाट विराटनगर जाँदै गरेको ना ४ ख ५४४८ नम्बरको बस र इलामबाट काठमाण्डु आउँदै गरेको ना ५लख ४८४१ नम्बरको बस शनिबार बिहान ठोक्किएर दुर्घटना भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us