काठमाण्डु, १८ कात्तिक– दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कको शिखर सम्मेलनअघि काठमाण्डुका सडक हरियाली बनाउन नभ्याइने भएको छ ।
सार्कलक्षित सडक निर्माणमा ढिलाइ भएकाले हरियाली बनाउन नभ्याइने भएको हो ।
आगामी १० र ११ मंसिरमा हुने सार्कलाई लक्षित गर्दै सडक हरियाली बनाउन काठमाण्डु महानगरपालिका र काठमाण्डु उपत्यका विकास प्राधिकरणलाई जिम्मा दिइएको छ । प्राधिकरणका प्रवक्ता केशव न्यौपानेले अहिले हरियाली बनाउन नभ्याइएका सडक सार्कपछि हरियाली बनाइने बताए ।
उनले भने, ‘सार्कअघि बनाउन नसकिएका सडक सम्मेलनपछि पनि हरियाली पारिनेछ । तर, सम्मेलनमा आउने भिआइपी आउजाउ गर्ने सडक भने हरियाली हुनेछ ।’
सडक हरियाली गर्न विनियोजित रकमबाट काठमाण्डु महानगरपालिकाले गाडी खरिद गरेको छ । महानगरपालिकाको साढे तीन करोड रुपैयाँमा तीनवटा ट्रिपर खरिद गरेको महानगरपालिकाका सार्क सम्मेलन तयारी समिति सदस्यसचिव रवीनमान श्रेष्ठले बताए ।
उनले भने, ‘महानगरपालिकाका लागि १२ करोड रुपैयाँजति रकम छुट्टयाइएको थियो । त्यसमध्ये तीन करोड रुपैयाँ जतिको गाडि किनियो । सडक सफा गर्न, सम्याउन आवश्यक परेकाले गाडी खरिद गरिएको हो ।’
नयाँ पत्रिकाबाट