काठमाण्डु, १६ कात्तिक – दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को १८ औं शिखर सम्मेलनमा सहभागी हुने सदस्य मुलुकका राष्ट्र-सरकार प्रमुखसहित १३ जनालाई मात्र सरकारी खर्चमा आतिथ्यता प्रदान गरिने भएको छ ।
सरकारी निर्णयअनुसार नेपाल सरकारले ९१ जनाको सम्पूर्ण खर्च बहन गर्नुपर्नेछ, जसमा आवास, भोजन, यातायात, सञ्चारलगायत प्रबन्ध गर्नुपर्नेछ । सातवटै देशका राष्ट्र – सरकार प्रमुख र उहाँहरूका पत्नीलाई पाँचतारे सोल्टी होटेलका विशेष कक्षमा आवासको व्यवस्था गरिएको छ ।
‘प्रत्येक मुलुकबाट आउने राष्ट्र – सरकार प्रमुखसहित १३ जनालाई नेपाल सरकारले आतिथ्य उपलब्ध गराउने निर्णयका साथ तयारी अघि बढाइएको छ,’– सम्मेलनका विविध पक्षबारे राससको जिज्ञासामा परराष्ट्र मन्त्रालयका कायमुकायम सचिव शङ्करदास वैरागीले बताए ।
सचिव वैरागीका अनुसार सम्मेलनमा अफगानिस्तान, भुटान र माल्दिभ्सबाट १५ देखि २० जनाको प्रतिनिधिमण्डल आउने प्रायः निश्चित भइसकेको छ भने भारत, पाकिस्तान, श्रीलङ्का र बङ्गलादेशबाट ५० देखि ७० जनासम्मको टोली शिखर सम्मेलनमा सहभागी हुनेछ । उनले भने, ‘सदस्य मुलुकबाट सम्मेलनमा सामेल हुने प्रतिनिधिमण्डलको टुङ्गो दुई–तीन दिनभित्रमा लाग्नेछ ।’ रासस