संघीय मोर्चाको सहमतिमै जोड

काठमाण्डु टुडे २०७१ कार्तिक १६ गते १०:१२ मा प्रकाशित

काठमाण्डु, १६ कात्तिक– एकीकृत माओवादी नेतृत्वको सङ्घीय गणतान्त्रिक मोर्चाले संविधान निर्माणमा देखिएका विवादित विषयलाई सहमतिका आधारमा नै अन्तिम निष्कर्षमा पुर्‍याउनुपर्नेमा जोड दिएको छ ।

एमाओवादीको संसदीय दलको कार्यालय सिंहदरबारमा आज बसेको मोर्चाको बैठकले सहमतिबिना कुनै पनि प्रक्रिया अगाडि नबढाउन नेपाली काँग्रेस र एमालेसँग पुनः आग्रह गरेको हो ।

सहमतिको प्रक्रियाभन्दा बाहिर गएर गणितीय प्रक्रिया अवलम्बन गरिए त्यो आफूहरुलाई सह्य नहुने चेतावनीसमेत मोर्चाले दिएको छ ।

बैठकमा पछिल्ला दिन प्रमुख तीन दलबीच भएका वार्ता तथा संवादको विषयमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जानकारी गराएको सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले बताए ।

काँग्रेस र एमालेले राज्य पुनःसंरचनाको सन्दर्भमा छ प्रदेशभन्दा माथि जान नसक्ने अडान राखिरहेका बेला मोर्चाले विगतको राज्य पुनःसंरचना समिति र राज्य पुनःसंरचना आयोगले गरेको सिफारिसका आधारमा नै उक्त प्रक्रियालाई अगाडि बढाउनुपर्नेमा जोड दिएको छ ।

यस्तै संवैधानिक–राजनीतिक संवाद समितिले शनिबारको बैठकले विवादित विषयमा दलका आ–आफ्ना अडानसहितको प्रतिवेदन संविधानसभामा पेस गर्ने निर्णय गरेको थियो ।

मोर्चाको बैठकले सहमति नभए प्रक्रियामा जान पनि सहमति चाहिनेमा जोड दिएको सहअध्यक्ष कर्णले जानकारी दिए ।
रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us