काठमाण्डु, १६ कात्तिक – प्रधानमन्त्री सुशील कोइरालाले समावेशी र सङ्घीयताको मूल मर्मलाई आत्मसात् गर्न प्राज्ञिक निकायलाई आग्रह गरेका छन् ।
नेपाल प्रज्ञा प्रतिष्ठानको २९औँ प्राज्ञसभा (बैठक)लाई आइतबार प्रधानमन्त्री कोइरालाले पठाइएको सन्देशमा सङ्घीयता, लोकतन्त्र, गणतन्त्र र समावेशीताजस्ता ऐतिहासिक उपलब्धिलाई संस्थागत गर्ने प्रयासमा सरकार लागिरहेको जनाउँदै प्राज्ञिक निकायले पनि त्यस मर्मलाई आत्मसात् गर्न आग्रह गरेका हुन् ।
प्रतिष्ठानका प्रमुख संरक्षकसमेत रहेका प्रधानमन्त्री कोइराला कार्यव्यस्तताका कारण अनुपस्थित भएपछि सन्देश कुलपति गङ्गाप्रसाद उप्रेतीले वाचन गरेका थिए ।
प्रधानमन्त्रीको सन्देशमा भनिएको छ, “समाजलाई रूपान्तरण गर्ने बाटो सहज छैन । यसमा सबै क्षेत्र र वर्गको समान दायित्व र सहभागिता अपेक्षित हुन्छ । यसका लागि सबै भाषा, साहित्य र संस्कृतिको संरक्षण गर्ने कार्ययोजना तयार गरी कार्यान्वयन गर्ने विश्वास लिएको छु ।”
उनले बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिकसहित अनेक विविधता अङ्गालेको नेपाललाई एकीकृत गर्न प्रज्ञा प्रतिष्ठानले महत्वपूर्ण भूमिका खेल्न सक्ने बताउँदै मानवमा ज्ञान र विवेक सिर्जना गर्न, समाजलाई शिक्षाको उज्यालो मार्गमा डो¥याउने प्राज्ञहरूको महत्वपूर्ण भूमिका रहने जनाएका छन् ।
सन्देशमा भनिएको छ, “साहित्य वर्तमानको कसी हो । यसमा समाजका कमजोरी र सवल पक्ष प्रतिबिम्बित हुन्छन् । साहित्य देशको इतिहास, वर्तमान र भविष्यको पनि ऐना हो । यसले समाजलाई अगाडि बढाउन निकै प्रेरित पनि गरिरहेको हुन्छ ।”
सभाको उद्घाटन गर्दै निवर्तमान कुलपति वैरागी काइँलाले समाज रूपान्तरणको बाटो भिरालो र साँघुरो घुम्तीबाट गुज्रिरहेको अवस्थामा नेपाली चिन्तन र दर्शन चिनाउने तथा पढाउने कार्य गर्न जोड दिए ।
कुलपति उप्रेतीले आफ्नो कार्यकालमा सबै जाति र भाषालाई समेटेर समसामयिक र प्रतिफलमूलक प्राज्ञिक गतिविधि गर्ने, छिमेकी र सार्क मुलुकका प्राज्ञिक निकायसँग सहकार्य बढाउने, गैरआवासीय नेपाली सङ्घसँग मिलेर विश्वभरि छरिएको नेपाली साहित्यको संयोजन गर्ने, प्रतिष्ठानलाई आर्थिक आत्मनिर्भर बनाउने, सरकारी अनुदान बढाउने, अन्य दुई प्रज्ञा प्रतिष्ठानसँग समन्वय गरी केही कार्य सामूहिक रुपमा गर्ने जानकारी दिए ।
उनले बढेको तलबबापतको तलब अनुदान (करिब दुई लाख रुपैयाँ) सरकारबाट प्राप्त नभए गतिविधि सञ्चालन गर्न कठिन हुने गुनासो गरे ।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव सुरेशमान श्रेष्ठले राष्ट्रको सांस्कृतिक एकीकरणको कार्यमा भूमिका खेल्ने प्राज्ञिक निकायलाई सरकारकातर्फबाट उचित सहयोग रहने विश्वास दिलाए । रासस