धादिङ, १६ कात्तिक– वर्षौंदेखि गाउँमा मोटर पुर्याउने सपना देखेका दक्षिणी धादिङका महादेवस्थान– ४ लाइपुरका बासिन्दा हिजोआज सडक मर्मतमा व्यस्त छन् ।
गाउँमा भएको उत्पादन बजारसम्म ल्याउन र बजारबाट खाद्य सामाग्री किनेर गाउँसम्म लैजान पाइने आशामा गाउँले बरडाँडादेखि लाइपुर हुँदै राकासेचौकी जोड्ने ग्रामीण सडक मर्मतमा लागेका हुन् । जिविस र गाविसको सहयोगमा दुई वर्षअघि निर्मित सडक बर्सातले बिगारेपछि घरेलु सामग्रीको प्रयोग गरेर पुन: सडक मर्मत गर्न लागिएको हो ।
गाउँमा मोटर चढेर जान पाउने आशामा एक साताअघि देखि लाइपुर र आसपासका महिला र वृद्धवृद्धासमेत चाँदे कोदालो र गलघनसहित पुरिएको सडक सफा गर्न कस्सिएको लाइपुरका हस्तबहादुर थापा मगरले बताए ।
सडक निर्माण भएपछि गाउँमा मोटर पुग्न नभ्याउँदै वर्षात्को पानी र पहिराले बिगारेको सडक मर्मत गरिएको थापा मगरले बताए । सडक मर्मतका लागि गाविसले सहयोग गर्ने भने पनि अहिलेसम्म कुनै सहयोग नपाइएको स्थानीयको गुनासो छ ।