नेपालीको सहयोगमा मन्त्रालयको विवरण कम्प्युटरमा राख्दै अफगानिस्तान

काठमाण्डु टुडे २०७१ कार्तिक १६ गते २:४८ मा प्रकाशित

काठमाण्डु– अहिलेसम्म कागजी ढड्डा पल्टाएर राज्यको आर्थिक हिसाबकिताब र खर्च विवरण राख्दै आएको अफगान सरकारको अर्थ मन्त्रालयले नेपाली कम्प्युटर प्राविधिकको सहयोगमा अर्थ अभिलेख राख्ने भएको छ ।
अफगानिस्तानका विभिन्न सरकारी एवम् निजी संस्थाहरुमा कम्प्युटर प्रविधि अभिलेखिकरणको काममा ७ वर्षयता समन्वय गर्दै आएका सुजित पौडेल र सहयोगी राकेश सिन्या अर्थ मन्त्रालयको आयव्यय विवरण ‘डेटा सेन्टर’ तयार गर्न व्यस्त छन् ।
‘यहाँको ट्रिजरी डिपार्टमेन्टअन्तर्गत सबै आयव्यय विवरण ६ महिनाभित्र कम्प्युटर अभिलेखीकरण गर्ने जिम्मेवारी पाएका छौं’, कावुलस्थित अर्थ मन्त्रालयमा पौडेलले भने, बहुराष्ट्रिय कम्पनी थकराल ग्रुपअन्तर्गत कार्यरत पौडेलले अफगानिस्तानका काबुल बैंक, बैंक अफ मिलिको डेटा सेन्टर पनि सञ्चालनमा ल्याएका छन् ।
थकराल ग्रुपको सूचना प्रविधि तथा व्यवस्थापनसम्बन्धी पद्धती नेपाल, भारत, अफगानिस्तानसहित विश्वका ३५ मुलुकमा सञ्चालित छ ।
उनका अनुसार अफगानिस्तानका ३४ वटै प्रान्तअन्तर्गत ट्रिजरी डिपार्टमेन्टको पछिल्लो विवरण र तथ्याङ्कबारेका कागजात अहिले संकलन भइसकेको छ । प्रतिमिनेट ५ सय पेजसम्म स्क्यान गर्ने अत्याधुनिक मेसिन प्रविधिको सहयोगमा कम्प्युटर इन्ट्रिको काम सुरू भइसकेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us