गोठालोमा १३ वर्षीया बालिकालाई तानेर जबर्जस्ती विवाह गर्न खोज्दा जेलकाे बास

काठमाण्डु टुडे २०७१ कार्तिक १६ गते २:४२ मा प्रकाशित

बझाङ, १६ कात्तिक– बझाङको तल्कोट क्षेत्रस्थित दाँतोला गाविसकी एक १३ वर्षीया बालिकालाई तानेर विवाह गर्न खोज्ने एक युवक जेल पुगेका छन् ।
बझाङ जिल्ला अदालतका न्यायाधीश रमेशप्रसाद ज्ञावलीको एकल ईजलासले बालिकालाई तानेर पत्नी बनाउन खोज्ने रिलु गाविस–२ का २८ वर्षीय धनबहादुर बोहरालाई बिहीबार जेल चलान गर्ने आदेश दिएको हो ।
असोज पहिलो साता धुरीकाँडा जङ्गलमा बाख्रा चराउन गएकी ती बालिकालाई गाउँकै धन बहादुरले तानेका थिए । पीडित बालिकाले असोज २२ गते जिल्ला प्रहरी कार्यालयमा करणी उद्योगअन्तर्गत उजुरी दिएर अदातलमा मुद्दा दर्ता भएपछि धनबहादुरलाई पक्राउ गरी अनुसन्धान सुरू गरेको थियो ।

अनुसन्धानपछि आवश्यक प्रमाण जुटाएर अदालतमा पेश गरेकामा कारागार चलान गर्ने आदेश भएको जिल्ला प्रहरी कार्यालयका निरीक्षक कमल विष्टले बताए । घटना गाँउमै मिलाउन खोजिए पनि बालिका न्याय खोज्दै सदरमुकाम आएपछि अदातलमा मुद्धा चलेको थियो ।
जिल्लाका विकट दाँतोला, रिलु, मष्टा, चौधारी, मौलाली,  सैनपसेला , लेकगाँउ, दौलीचौर सुनिकोट, भैरनाथ,  सुर्मा र बुंगलक्षेत्रमा केटीको मञ्जुरी नलिई केटाहरुले जबर्जस्ती तानेर विवाह गर्ने प्रचलन अझै छ ।
गाँउले र दलका नेताहरुले बालिकालाई एक लाख रुपैयाँ दिएर मिलाउन खोजेपनि पीडित पक्षले नमानेपछि यो घटना सार्वजनिक भएको थियो ।
अन्नपूर्ण पोष्टबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us