उदयपुर, १६ कात्तिक– चोरी गरेको आरोपमा रौता– ४ नामनतामा शनिबार स्थानीय बासिन्दाले १० वर्षीय बालकलाई यातना दिएका छन् ।
स्थानीय लालबहादुर मगरको पसलमा चोरी गरेको भन्दै बाबु नभएका दिनेश मगरलाई रातभर यातना दिइएको हो । पसले लालबहादुर मगरसहित दानबहादुर मगर, कमल मसाइली मगर, जयप्रसाद यादब्वसमेतले यातना दिएको बालकका मामा गंगा मगरले बताए ।
लालबहादुरको समूहले दिनेशलाई शुक्रबार रातिदेखि शनिबार बिहानसम्म सिस्नुपानी लाएर यातना दिएको उनले बताए । ‘मादक पदार्थ सेवन गरेका लालबहादुरको समूहले दिनेशलाई रातभर घरको दलिनमा झुन्ड्याएछन्,’ गंगाले भने,‘ पसल चोर्नेलाई यसरी नै सजाय दिनुपर्छ भन्दै नांगै बनाएर सिस्नुपानी लगाएछन् ।’
सानी आमाले थाहा पाएर जाँदा दिनेशलाई उल्टो बनाएर सिस्नुपानी लगाएको अवस्थामा देखेको उनले बताए । दिनेशका बाबु तारणको मृत्यु भइसकेको छ। आमा गोपीमाया दुई वर्षदेखि वैदेशिक रोजगारीमा छन् ।