प्रधानमन्त्रीले नभई अख्तियारले मुलुक चलाएको विद्यार्थी नेताको आरोप

काठमाण्डु टुडे २०७१ कार्तिक १५ गते १४:२७ मा प्रकाशित

काठमाण्डु, १५ कात्तिक– प्रमुख दलनिकट विद्यार्थी संगठनहरुले मुलुक अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चलाउन खोजेको आरोप लगाएका छन ।
रिपोर्टर्स क्लब नेपालले शनिबार गरेको साक्षात्कारमा उनीहरुले राजनीतिक दलका नेतृत्वले मुलुक नचलाएको बताए ।
अनेरास्ववीयूका पूर्वअध्यक्ष माधव ढुंगेलले मुलुक प्रधानमन्त्रीले नभई अख्तियारले चलाइरहेको भन्दै कसैलाई पक्रेर थुन्ने काम अख्तियारको नभई गृह मन्त्रालयको भएको बताए । उनले भ्रष्टाचारको नाममा जो कोहीलाई थुनेर भोलि भ्रष्टाचार ठहर हुन नसके उसको गिरेको सामाजिक साख कसले फिर्ता गर्ने भनी प्रश्न गरे ।
अनेरास्ववियु अध्यक्ष किशोरविक्रम मल्लले अख्तियारले विश्वविद्यालयलाई बदनाम गर्ने उद्देश्यसहित पोखरा विश्वविद्यालयका सबैलाई पक्राउ गरेको भन्दै यस विषयमा विश्व विद्यालयका कुलपति प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग गरे ।
भ्रष्टाचार नियन्त्रणको सकारात्मक पहललाई आफूहरुले सहयोग गर्ने स्पष्ट पार्दै पोखरा विश्वविद्यालयमा भएको कारबाही आपत्तिजनक भएको उल्लेख गरे ।
शंकरदेब क्याम्पसका स्ववियु सभापति शुभराम बस्नेतले विश्वविद्यालयको भ्रष्टाचारलाई हाउगुजी बनाएको अख्तियारले ठूला भ्रष्टहरुलाई कारबाही गर्न नसकेको गुनासो गर्दै यसले शिक्षा क्षेत्रलाई तहसनहस पार्ने दाबी गरे ।
अनेरास्ववीयू क्रान्तिकारीका नेता रमेश मल्लले अख्तियारले गलत ढंगले विश्वविद्यालयलाई भ्रष्टाचारको आरोप लगाएको भन्दै कार्यशैलीको आलोचना गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us