कांग्रेस–एमाले ६ प्रदेशमा साना दल फकाउँदै

काठमाण्डु टुडे २०७१ कार्तिक १५ गते ११:३० मा प्रकाशित

काठमाण्डु, १५ कात्तिक – कांग्रेस–एमालेले ६ प्रदेशमा सहमतिमा आउन साना दललाई आग्रह गरेका छन् ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा राष्ट्रिय जनमोर्चा, नेकपा माले लगायतका साना दलसँग भएको छलफलमा कांग्रेस एमालेले ६ प्रदेशमा सहमत हुन आग्रह गरेका हुन् ।

एकीकृत माओवादी सहितको गठबन्धन पहिचानसहितको संघीयताका पक्षमा उभिएपछि कांग्रेस–एमाले ६ प्रदेश बनाउन एकमत भएका हुन् ।

सत्तारुढ दलहरुबीच ६ प्रदेशमा सहमति गराएर विपक्षीलाई पनि आफ्नै एजेन्डामा ल्याउन सकिने कांग्रेस एमालेका नेताहरुको बुझाइ रहेको छ ।

कांग्रेसले यसअघि सात प्रदेशको विकल्प ल्याएको थियो भने एमाले नेता ओलीले चार प्रदेशमा जान सकिने प्रस्ताव ल्याएका थिए । विपक्षीलाई सहमतिमा ल्याउने रणनीति अनुसार यी दुई दल ६ प्रदेशमा सहमत भएका हुन् ।

बैठकमा सहभागी राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले कांग्रेस एमालेले ६ प्रदेशका लागि सहयोग गर्न आफूहरुसँग अनुरोध गरेको जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us