लेखक–साहित्यकारलाई परिचयपत्र वितरणको तयारी

काठमाण्डु टुडे २०७१ कार्तिक १५ गते ११:११ मा प्रकाशित

काठमाण्डु, १५ कात्तिक – नेपाल प्रज्ञा प्रतिष्ठानले लेखक–साहित्यकारलाई परिचयपत्र प्रदान गर्ने तयारी गरेको छ ।

nepal academyमुलुकमा राष्ट्रिय परिचयपत्र निर्माणको तयारी भइरहेका बेला प्राज्ञिक क्षेत्रका निकायले साहित्यकारहरूलाई सम्मान र राहत महसुस गराउन यस्तो निर्णय गरेको हो ।

प्रतिष्ठानको यही कात्तिक १३ गतेको परिषद्को बैठकले परिचयपत्रको कार्यविधि तय गर्न प्राज्ञ सदस्य मातृका पोखरेलको संयोजकत्वमा सदस्यद्वय नर्मदेश्वरी सत्याल र श्रवण मुकारुङ रहेको समितिलाई जिम्मा दिएको छ ।

छिमेकी भारत र चीनमा पनि दीर्घ साधनारत लेखक साहित्यकारलाई सम्मान र सुविधाका लागि परिचयपत्र प्रदानको व्यवस्था रहेकाले नेपालमा पनि त्यस्तो व्यवस्था गर्न लागिएको हो ।

समितिका संयोजक पोखरेलले सरोकारवाला संस्था र व्यक्तिसँग छलफल गरेर कार्यविधि बनाउने र परिचयपत्र वितरणपछि सम्बन्धित स्रष्टालाई दिन सकिने सुविधाका बारेमा सरकारलाई सिफारिस गर्ने बताए ।

राज्यले साहित्यकारलाई परिचयपत्रका आधारमा यातायात, स्वास्थ्य, घरजग्गा करजस्ता विषयमा छुट दिन सक्नेछ । कतिपय मुलुकको यस्तो व्यवस्था रहेको पाइन्छ ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल शाखाका अध्यक्ष राधेश्याम लेकालीले प्रतिष्ठानको सो निर्णय स्वागतयोग्य भएको भन्दै यस कार्यले लेखकहरू प्रज्ञा प्रतिष्ठानप्रति उदासिन रहेको अवस्थामा यसले सकारात्मक परिवर्तन ल्याउने जानकारी दिए ।

समालोचक तथा अनुवादक युयुत्सु आरडी शर्माले भने प्रतिष्ठानको सो निर्णयलाई अर्थहीन कार्यको सङ्ज्ञा दिँदै यसले साहित्यलाई पञ्जीकरण र कारिन्दागिरीमा लाने तर्क राखे ।

अन्तर्राष्ट्रिय नेपाली गजल मञ्चका महासचिव घनेन्द्र ओझाका विचारमा स्रष्टालाई परिचयपत्र दिनु नराम्रो होइन तर त्यसको प्रयोजन स्पष्ट हुनुपर्छ ।

प्राज्ञ पोखरेलले भने स्रष्टाहरूले त्यस्तो व्यवस्था गर्नु पर्दैन भन्ने सुझावमा आफूहरु सोहीअनुसार अघिबढ्ने बताउँदै भने, “तर केही व्यक्ति विशेषको पूर्वाग्रह वा आग्रहका आधारमा हामीले निर्णय गर्ने होइन ।”

उनले विस्तृत छलफल र अध्ययनपछि मात्रै यसलाई कार्यान्वयनमा ल्याइने जानकारी दिए ।

यसैबीच, प्रतिष्ठानको नवगठित नेतृत्वले भोलि आइतबार २९औँ प्राज्ञसभा बैठक गरी कार्ययोजना प्रस्तुत गर्दैछ । सभाको उद्घाटन प्रधानमन्त्री सुशील कोइरालाले गर्ने कार्यक्रम छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us