डेङ्गुबाट इलाममा एकको मृत्यु

काठमाण्डु टुडे २०७१ कार्तिक १५ गते १०:५८ मा प्रकाशित

इलाम, १५ कात्तिक – इलामको कोल्बुङमा डेङ्गुको टोकाइबाट एक युवतीको ज्यान गएको छ । डेङ्गुको टोकाइबाट कोल्बुङ–२ की २५ वर्षीय प्रेमकुमारी बराइलीको ज्यान गएको हो ।

डेङ्गुको टोकाइबाट घाइते भएकी उनको तिहारको भाइटीकाका दिन मृत्यु भएको स्थानीयवासी गणेश अर्यालले जानकारी दिए । घाइते बराइलीलाई उपचारका लागि एक साताअघि विराटनगरस्थित गोल्डेन हस्पिटलमा लगिएकामा उनको त्यहीँ मृत्यु भएको र अस्पतालले दिएको प्रतिवेदनमा डेङ्गु पोजेटिभ भन्ने उल्लेख गरिएको अर्यालले बताए ।

तर यसबारेमा जिल्ला स्वास्थ्य कार्यालयमा केही जानकारी नभएको औलो तथा मलेरिया शाखाका भेक्टर विमल बरालले जनाए । डेङ्गुको टोकाइबाट मृत्यु हुने बराइली जिल्लामै पहिलो हुन सक्ने बताइएको छ ।

उनलाई कहिले लामखुट्टेले टोकेको भन्ने कुनै पत्तो नभएको र एक्कासि मृत्युपछि मात्र अस्पतालले दिएको रिपोर्टका आधारमा मात्र डेङ्गु भएको थाहा भएको आफन्तले बताएका छन् । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us