काठमाण्डु, १५ कात्तिक – नेपालका लागि भारतीय राजदूत रञ्जित रेले भारतले नेपालमा राजनीतिक स्थिरता, शान्ति एवम विकास चाहेको बताएका छन् ।
राजधानीमा आयोजित भारत–नेपाल शिक्षा मैत्री कार्यक्रमको उद्घाटन कार्यक्रममा राजदूत रेले भारत सरकार नेपालको दिगो विकास र समृद्धिको पक्षमा रहेको उल्लेख गर्दै यहाँको शिक्षा, स्वास्थ्य तथा पूर्वाधारमा सधै सहयोग गर्न तयार रेहेको बताएका छन् ।
राजदूत रेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणका बेला घोषणा गरे बमोजिम नै आफूहरुले नेपालका २० जना विद्यार्थीलाई विभिन्न विद्यामा भारतका प्रसिद्ध विश्वविद्यायमा चार देखि छ हप्ताका लागि लग्ने जानकारी दिएका छन् । उद्घाटनसँगै आज पहिलो व्याच अन्र्तगत २० जना विधार्थी गएका छन् ।
राजदूुत रेले भने–‘ नेपाली विद्यार्थीको पहिलो व्याच भारत–नेपाल शिक्षा मैत्रीको लागि आज भारत जान लागेकोमा हामी अत्यन्तै खुशी छौं । ’’ उनका अनुसार विधार्थीहरुले यही नोभेम्बर १ देखि २५ सम्म भारतकै सबैभन्दा पूरानो एवम प्रसिद्ध विश्वविद्यालय कलकत्ता विश्वविद्यालयको भ्रमण गर्नेछन् ।
भ्रमण कार्यक्रममा नेपाली विद्यार्थीहरुले फिल्ड भिजिट, कलकत्ताका ऐतिहासिक एवम् साँस्कृतिक महत्व बोकेका स्थानहरुको अवलोकन गर्ने, शैक्षिक कार्यक्रममा सहभागी हुने र स्थानीय नेतृत्व तहसँग अन्र्तक्रिया गर्ने लगायतका अवसरहरु पाउने छन् ।
कार्यक्रमको उद्घाटन भने नेपाल सरकारका शिक्षा मन्त्रालयका सचिव विश्वप्रकाश पंडित र नेपालका लागि भारतीय राजदूत रेले संयूक्त रुपमा गरेका हुन् ।