काठमाण्डु, १५ कात्तिक– नेपालको संविधान लेखन र लोकतान्त्रिकरणको प्रयासमा सघाउन जापानले सधैँ तत्पर रहेको बताएको छ ।
जापानी संसद् डायटका सदस्य योसुके सुरुहोको शनिबारदेखि सुरु भएको नेपालको औपचारिक भ्रमणको सन्दर्भमा यहाँस्थित जापानी दूतावासले जारी गरेको वक्तव्यमा जापान सरकार र त्यहाँका जनता नेपालको संविधान र प्रजातान्त्रिक प्रक्रियामा सघाउन तत्पर रहेका जनाइएको छ ।
राष्ट्रपति डा. रामवरण यादवसँग जापान–नेपाल संसदीय मैत्री सङ्गठनका महासचिवसमेत रहेका उनले भेटवार्ता गर्ने कार्यक्रम छ ।
साथै उनले अर्थमन्त्री रामशरण महत, परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे र नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेललाई बेग्लाबेग्लै भेटेर द्विपक्षीय सहयोग र संसदीय प्रतिनिधिमण्डल आदानप्रदानबारे विचारविमर्श गर्नेछन् ।
जनस्तरमा हुने यस्ता भ्रमणले दुईदेशबीच विद्यमान सुमधुर, मैत्रीपूर्ण एवम् सहयोगात्मक सम्बन्ध अझ सुदृढ हुने विश्वास उक्त दूतावासले व्यक्त गरेको छ ।