संवाद समितिको म्याद फेरि नथप्ने

काठमाण्डु टुडे २०७१ कार्तिक १५ गते ८:०१ मा प्रकाशित

काठमाण्डु, १५ कात्तिक – प्रमुख तीन दलले संवैधानिक तथा राजनीतिक संवाद समितिको समय पुन : नथप्ने भएका छन् ।

CA-buildingशनिबार संविधानसभा अध्यक्ष सुवास नेम्वाङको कार्यकक्षमा बसेको तीन दलका शीर्ष नेता, संवाद समिति सभापति बाबुराम भट्टराई, मस्यौदा समिति सभापति कृष्णप्रसाद सिटौला र सभामुख सुवास नेम्वाङलगायतकाले यस्तो निर्णय गरेका हुन् ।

संविधानका विवादित विषयमा सहमति खोज्न राजनीतिक तथा संवाद समितिको पछिल्लो समय भोलि कात्तिक १५ गत सकिदैछ ।

बैठकमा दलहरुले राखेका आ–आफ्ना अडानलाई संविधानसभाको पूर्ण बैठकमा पेश गर्ने तर पुन: समितिको समय नथप्ने निर्णय भएको हो ।

संविधानसभा पूर्ण बैठकले कात्तिक २५ अगाडी नै सहमति नभएका विषयलाई मस्यौदा समितिमा बुझाउने सहमतिसमेत भएको छ ।

बैठकपछि एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दलहरुबीच सहमतिको अन्तिम प्रयास भोलिसम्म जारी रहने बताएका छन् । सहमति भएन भने संविधानसभा पूर्ण बैठकमा लैजाने र दलहरुका प्रस्ताव जस्ताको तस्तै पेश गर्ने स्पष्ट पारेका छन् । यसको मतलब प्रक्रियामा नै जाने भन्ने नरहेकोसमेत खुलासा गरे ।

मस्यौदा समिति सभापति कृष्णप्रसाद सिटौलाले म्याद थप्नुको कुनै अर्थ नरहेको बताए । उनले भोलिसम्म प्रयास गर्ने भएन भने दलहरुको अडान पूर्ण बैठकमा लैजाने निर्णय भएको उल्लेख गरे ।

सभामुख सुवास नेम्वाङले सहमतिका लागि २ घण्टा भए पुग्छ भन्ने दललाई २ दिन प्रसस्त रहेकाले सहमतिका लागि अधिकतम प्रयास जारी राख्नुपर्ने बताए । प्रक्रियामा जान पनि दलहरुबीच सहमति चाहिने हुनाले सहमतिको विकल्प नरहेको जनाए ।

आज र भोलि सहमतिको लागि प्रमुख तीन दलबीच छुट्टाछुट्टै द्धिपक्षीय बैठक बस्ने संवाद समिति सभापति भट्टराईले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us