बौद्धिक अपाङ्गता स्रोत कक्षालाई अस्ट्रेलियाबाट सहयोग

काठमाण्डु टुडे २०७१ कार्तिक ११ गते २:३४ मा प्रकाशित

म्याग्दी, ११ कात्तिक– म्याग्दीको बेनी नगरपालिका– ११ बगुवाखोलामा सञ्चालित बौद्धिक अपाङ्गता स्रोत कक्षालाई अस्ट्रेलियाबाट १ लाख ५० हजार सहयोग प्राप्त भएको छ ।

बौद्धिक अपाङ्गता भएका बालबालिकालाई शिक्षाको पहुाचमा ल्याउने र सामाजिकीकरण गराउने उद्देश्यले बालजागृति प्राविले सञ्चालन गरेको स्रोत कक्षालाई अस्ट्रेलियामा रहेका नेपालीले आर्थिक सहयोग गरेका हुन् ।

लायन्स क्लब अफ अस्ट्रेलियामार्फत ५० हजार  र म्याग्दी सेवा समिति अस्ट्रेलियाबाट १ लाख  सहयोग प्राप्त भएको विद्यालयका प्रधानाध्यापक भक्त कार्कीले जानकारी दिए । सहयोग जुटाउने पहल गर्ने बेनी नगरपालिका–६ घर भई हाल अस्ट्रेलियामा कार्यरत सुमन बानियालाई विद्यालयले सोमबार सम्मान गरेको छ ।

विद्यालयले आन्तरिक स्रोत र चन्दा जुटाएर २०६९ सालदेखि सञ्चालन गर्दै आएको उक्त स्रोत कक्षामा हाल म्याग्दी र बागलुङका २१ जना बौद्धिक अपाङ्गता भएका बालबालिका अध्ययनरत छन् । प्राप्त सहयोग बालबालिकाको आवास व्यवस्थापन र शैक्षिक एवम् खेलकुद सामग्रीमा प्रयोग गरिने विद्यालयले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us