बिरामी भएपछि कामबाट निकालिन्छन् नेपाली कामदार

काठमाण्डु टुडे २०७१ कार्तिक ९ गते १०:५८ मा प्रकाशित

मलेसिया-मलेसियाको नेम नामक सुरक्षा कम्पनीमा कामदार रहेका कास्कीका कृष्णप्रसाद ढकाललाई गर्धनमा पिलो आयो । उनलाई शल्यचिकित्सा गर्नुपर्ने भयो । साहुले उपचार खर्च दिएर आराम गराउने त कहाँ कहाँ उनलाई जागिरबाट हटाइयो । अन्ततः कामदार प्रवेशाज्ञाको अवधि बाँकी रहँदै ढकाल घर फर्कन बाध्य भए ।

२ लाख रुपैंया ऋण गरेर आठ महिनाअघि कामदारका रुपमा मलेसिया आएका ढकाललाई चिनी रोगको पनि समस्या छ । पिलोको शल्यचिकित्सापछि घाउ निको भए पनि चिनीरोग दीर्घ समस्या हुन सक्ने भएकाले कम्पनीले हटाएको गुनासो गर्दै यही कात्तिक ४ गते उहाँ नेपाल फर्केका हुन् । उपचार खर्चमा मात्रै करिब दुईलाख रुपैयाँ लागेपछि थप उपचारमा अझ बढी खर्च हुने भयमा रहेका ढकाललाई एक प्रकारले जागिर छोड्नु नै उचित पनि लाग्यो ।
भाषा बुझिन्न। काम गर्न सजिलो छैन । नेपालबाट कामदार आउने सङ्ख्या बढिरहेकाले हप्तामा २८ घन्टाभन्दा बढी काम गर्न पनि मिलिरहेको छैन । जसका कारण उनीहरुको मासिक आम्दानी रु ३० हजारको हाराहारीमा हुन्छ ।
एउटै कोठामा २० जनासम्म बस्नुपरेको छ। काममा जानका लागि पोसाक किनेको रकम पनि साहुले तलबबाट कटाउने गर्छ । कोही अनायासै बिरामी भएर मर्ने क्रम यहाँ नयाँ होइन। सुरुमा भनेको जति त तलब नपाउने र भनेको भन्दा अर्कै काम गर्नुपर्ने नेपालीका पीडा पनि धेरैपटक सार्वजनिक भइसकेका छन् । चालकका लागि आएकालाई रुख काट्ने काममा लगाइएका उदाहरण पनि छन् ।
दलित खडाल म्यानपावर कम्पनीबाट मलेसिया आएका ढकालले ऋण तिरेर अलिकति बचत त गरेका छन् तर विदेश गएर कमाएर यति ल्याएँ भनेर देखाउने रकम उनीसँग छैन। म्यानपावरले केही क्षतिपूर्ति दिन्छ कि भन्ने झिनो आशा पनि उनमा छ । पोखराको पर्यटकीयस्थल सारङ्गाकोटमा होटल भएका ढकाल त्यहाँ घाटा लाग्न थालेपछि विदेशियका हन्। अहिले सासूको निधन भएपछि श्रीमतीले पनि होटल चलाउन नसकेपछि बन्दको अवस्थामा छ ।

ढकालको यो सबै दुःख आफ्ना लागिभन्दा पनि छोराछोरीको पढाइ खर्च जुटाउन हो । आफूले ५ कक्षाभन्दा माथि पढ्न नपाएका कारण जीवनमा खेप्नुपरेको दुःख सन्तानमा नसरोस् भन्ने हुटहुटी छ उनमा । यति दुःख गरेर छोरालाई इञ्जिनियर बनाउने सपना पूरा गर्न उनी फेरि खाडी मुलुकमै राम्रो कामको खोजीमा छन् ।
ढकालसँगै डेङ्गु र क्षयरोगका आशङ्का भएपछि नवलपरासीका दलबहादुर कुमाल पनि सोही दिन नेपाल फर्केका छन् । ‘के भएको होरु अझै पत्तो छैन । रोगी भएपछि साहुले निकाल्यो,’ लामो खोकीका बीच कुमालले भने ।

काम छाडेर घर फर्कनुपरेकाको पीडा एउटा छ भने काममा खटिइरहेकाका समस्या पनि चिन्ताजनक छन् । क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलमा शौचालय सरसफाइ गर्दै रहँदा भेटिएका सिरहाका योगेन्द्र ठाकुर पहिला भनिए जति तलब नपाएको गुनासो गर्छन् ।
मलेसिया छिरेको पहिलो दिनमै उनलाई अत्यास लगेको थियो । विमानस्थलमा अवतरण गरेपछि कहाँ जानेरु के गर्नेरु भन्ने समस्या भयो। कामदार माग गर्ने कम्पनीले विमानस्थलमा लिन आउँछ भन्ने म्यानपावर कम्पनीको जानकारी त्यहाँ काम लागेन । दुई दिनसम्म सोही विमानस्थलमा भोकै सुत्नुपरेको स्मरण उनमा मानसबाट हटेको छैन ।
सफाइ कामदार नै रहेका नुवाकोट काउलेका शेरबहादुर तामाङले यहाँस्थित समस्यामा परेका सबै कामदार एकजुट भएर शोषण गर्ने कम्पनीको विरोधमा आवाज उठाउने तयारीमा रहेको बताए । तामाङले भने, ‘सबै नेपाली कामदार एक भएमा साहूले हेप्न सक्दैन, कतिपय साथीहरु जागिरबाट हटाउँछ कि भनेर डराउँछन्, त्यसरी हाम्रो अधिकारको रक्षा हुन सक्दैन ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us