जेलमा पनि गुण्डाकै दादागिरी

काठमाण्डु टुडे २०७१ कार्तिक १ गते ३:०६ मा प्रकाशित

काठमाण्डु, १ कात्तिक– अवैध हतियार र लागुऔषध अभियोगमा पक्राउ परेका सुजन पौडेल (रमेश बाहुन) लाई जिल्ला अदालत, काठमाण्डुले पुर्पक्षका लागि थुनामा karagarपठाउने आदेश दियो । लगत्तै डिल्लीबजार कारागार चलान गरिएका उनी त्यहाँ दुई महिना पनि टिक्न सकेनन् ।
भदौयता बाहुन केन्द्रीय कारागार गोलघरमा छन् । जेल प्रशासनले ‘सुरक्षा कारण’ बताए पनि उनी डिल्लीबजार कारागारमा टिक्न नसक्नुको कारण अरू केही होइन, त्यहाँ दीपक मनाङगे समूहको दबदबा हो ।
स्रोतअनुसार डिल्लीबजार कारागारमा मनाङगे निकटका कर्मा घले, टासी गुरुङ र अर्जुन गुरुङ बन्दी छन् । डिल्लीबजारको ‘ख’ ब्लकमा रहेका उनीहरूले त्यही ब्लकमा ल्याइएका बाहुनलाई रुचाएनन् । जेल प्रशासनले जोखिम मोल्न चाहेन । उनीहरूकै इच्छाअनुसार बाहुनलाई केन्द्रीय कारागार सरुवा गरियो । अहिले उनी सिरियल किडन्यापर अमर टन्डन र सिरियल किलर चार्ल्स शोभराजसँगै गोलघरमा छन् ।
मनाङले जेलभित्र हुन् या बाहिर, डिल्लीबजार कारागारमा उनकै दबदबा छ । उनलाई जतिचोटि पक्राउ गरेर जेल चलान गरिए पनि त्यहीँ राखिन्छ । कुटपिट अभियोग पुष्टिसँगै एक वर्ष कैद सजाय काट्न उनी डिल्लीबजार कारागारै पुगेका थिए । त्यहीँबाट ‘आफू मनाङगे नभएको’ भन्दै सर्वोच्च अदालतबाट बन्दी प्रत्यक्षीकरणको रिटमा मुद्दा जितेर मुक्त भएका उनी चार महिनापछि फेरि पक्राउ परे । त्यसबेला पनि उनलाई डिल्लीबजार कारागार नै लगियो । अकुत सम्पत्ति कमाएको अभियोगमा विशेष अदालतले मागेको धरौटी नबुझाएर केही महिना डिल्लीबजारमा बसेपछि उनी धरौटी तिरेर मुक्त भएका थिए ।
स्रोतअनुसार जेलमा भएका बेला त स्वभाविक रूपमा मनाङगेको हालिमुहाली चलिहाल्छ, बाहिरै रहँदा पनि आफ्ना समर्थकमार्फत उनी जेलभित्र पकड जमाउँछन् । मनाङगे बाहिर आएपछि भने अहिले डिल्लीबजारमा कर्मा घले र टासी गुरुङको दबदबा छ । जेलभित्रको सम्पूर्ण खटनपटन उनीहरूकै आदेशअनुसार चल्छ । जेलभित्र सुरक्षित रहनु छ भने उनीहरूको नेतृत्व स्वीकार्नुको विकल्प नभएको त्यहीँका एक कैदी बताउँछन् ।
‘उनीहरूको निर्देशन नमान्नु जेलभित्र असुरक्षित हुनु हो,’ ती कैदीले भने, ‘जेल प्रशासनमा समेत उनीहरूको पहुँच छ, डिल्लीबजार जेलमा उनीहरूले जे चाह्यो, त्यही चल्छ ।’
प्रहरीले ‘गुन्डा नाइके’ भन्दै आएका व्यक्तिले सिङ्गो जेललाई आफ्नो काबुमा राख्ने यो प्रवृत्ति दीपक मनाङगे र डिल्लीबजार कारागारमा मात्र सीमित छैन ।
डिल्लीबजारमा मनाङगेको हैकम चले झैं केन्द्रीय कारागारमा अर्का ‘गुन्डा नाइके’ चक्रे मिलनको दबदबा चल्छ । उनको पनि शैली उस्तै हो । हरेकचोटि पक्राउ पर्दा उनलाई केन्द्रीय कारागार नै लगिन्छ । उनका समर्थकलाई पनि केन्द्रीय कारागार नै पुर्‍याइन्छ । यसको कारण पनि फरक छैन, उनीहरुलाई अन्यत्र राख्नु भिडन्त निम्त्याउनु हो ।
लागुऔषध र अवैध हतियार अभियोगमा बुटवलमा पक्राउ पर्दा चक्रेलाई केही महिनामै केन्द्रीय कारागार सरुवा गरिएको थियो । उनले त्यहीँ पाँच वर्ष कटाए । केही महिनाअघि उनी बाहिरिएपछि केन्द्रीय कारागारको नेतृत्व यादव डंगोल हत्यामा कैद सजाय काटिरहेका जित थापाले सम्हालेका छन् । उनकै समूहका दीपक डुंडे पनि त्यहीँ छन् ।
मनाङ्गे र चक्रेबाहेक अन्य समूहका नाइके र सदस्यको रोजाइमा ललितपुरको नख्खु कारागार पर्छ । हत्या अभियोग पुष्टिसँगै लामो समय भारतमा बसेका राजु गोर्खाली पक्राउ परेपछि सीधै नख्खु चलान गरियो । उनी त्यहीँबाट रिहा भए । अहिले नक्कली भारतीय रुपैयाँ कारोबारमा पक्राउ परेका युनुस अन्सारी नख्खुमै छन् ।
भारतीय अन्डरवर्ल्डका सदस्य उदय सेठ्ठी, कुख्यात अपहरणकारी टन्डन पनि केही समय यही जेलमा बसेका थिए । एक वर्षअघि जेलभित्र दुई प्रहरीलाई सात घन्टा बन्धक बनाएपछि टन्डन केन्द्रीय कारागार गोलघर आइपुगे । सेठ्ठीलाई भने नख्खुबाट नुवाकोट जिल्ला कारागार सरुवा गरिएको थियो । जेलभित्रैबाट आपराधिक समूह चलाएको पुष्टि भएपछि उनी पनि सीधै गोलघर लगिए ।
गिरी भने आफ्नी प्रेमिकामार्फत एक कर्मचारी अपहरण गरी १० लाख रुपैयाँ असुलेको अभियोगमा पुर्पक्षका लागि थुना राख्न नख्खु पठाइएका थिए । त्यहाँ उनले पहिल्यैदेखि रहेका रमेश लामा –चाइनिज), शम्भु गौतम (भोले बाबा) र विक्रम तामाङले समूह बनाएर चार दिनसम्म जेलको ‘सी’ ब्लक कब्जामा राखे । बाध्य भएर जेल प्रशासनले यी सबैलाई बिहीबार विभिन्न जेलमा सरुवा गर्ने निर्णय गर्‍यो ।  गिरी अहिले डिल्लीबजार कारागार पुगेका छन् ।
नागरिक दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us