सरकारले बढायो सार्वजनिक सवारी साधनको भाडा

काठमाण्डु टुडे २०७१ कार्तिक १ गते २:५१ मा प्रकाशित

काठमाण्डु, १ कात्तिक– सरकारले आगामी कात्तिक १५ गतेबाट लागू हुने गरी सार्वजनिक सवारी साधनको भाडा वृद्धि गरेको छ ।
यातायात व्यवस्था विभागका महानिर्देशक काशीराज दाहालका अनुसार भौतिक योजना तथा यातायात मन्त्रालय र व्यवसायी बीच भदौ १५ मै भाडा बढाउने सहमति भए पनि चाडपर्वका कारण दुई महिनापछि मात्र लागू गर्न लागिएको हो ।
सरकार र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघबीच भएको सहमतिअनुसार छोटा तथा लामो दूरीमा चल्ने सार्वजनिक यात्रुबाहक सवारी साधनमा ५.६३ प्रतिशत वृद्धि गरिएको छ । यस्तै, मालबाहकमा भने काठमाण्डु–पोखरा–नारायणगढ क्षेत्रसम्ममा ५.२७ प्रतिशत र तराई क्षेत्रमा ५.२१ प्रतिशत वृद्धि गरिएको हो ।
यस्तै, मिटर जडित ट्याक्सीको भाडामा ६.५८ प्रतिशतले वृद्धि गरिएको छ । लामो दूरीको भाडाको पूर्ण सूची १५ गतेभित्रमा यातायात व्यवस्था अन्तर्गतका विभिन्न कार्यालय, हरेक जिल्ला प्रशासन कार्यालय, ट्राफिक प्रहरी र अन्य सम्बन्धित निकायमा भाडा सूचीको बुकलेट बनाएर पठाइदिने महानिर्देशक दाहालले बताए ।
यस्तै,उपत्यका तथा सहरी क्षेत्रमा सञ्चालन हुने सवारी साधनमा पनि ५ दशमलब ६३ प्रतिशत नै भाडाको दर बढेको छ । ४ किमिको १५ बाट १६ ,५ किमिको १७ नै ,६ किमिको १८ बाट १९,८ किमिको १९ बाट २० रुपैयाँ निर्धारण गरिएको छ । त्यस्तै १० किमिको २१ बाट २२, १३ किमिको २२ बाट २४, १६ किमिको २५ बाट २६, १९ किमिको २६ बाट २७ र १९ किमि भन्दामाथि २७ बाट २९ रुपैयाँ निर्धारण गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us