बढ्दै छन् कुमारी आमा

काठमाण्डु टुडे २०७१ कार्तिक १ गते २:४५ मा प्रकाशित

गुल्मी, १ कात्तिक– दुर्गम गाउँ दर्लिङ– ५ की धनी विश्वकर्माका छोराको उमेर १५ पुग्यो ।
१६ वर्ष पुगेपछि नेपाली नागरिकता बनाउने कानुनी व्यवस्था भए पनि अहिलेसम्म उनका बाबुको पहिचान हुन सकेको छैन । सुरुमा धनीले नै धेरैलाई छोराको बाबु दाबी गरेपछि स्थानीयले समेत पहिचान गराइ दिन नसक्दा अहिलेसम्म समस्यामा छन् ।
दर्लिङ– २ कै सुस्त मनस्थितिकी एक युवतीको छोरा ६ वर्ष पुग्दासम्म बाबुको पत्तो छैन । बोल्न नसक्ने ती किशोरीलाई कसले बलात्कार गर्‍यो भन्ने पत्तो नलाग्दा छोराको बाबु खोज्दै समस्या परिरहेको छ । यी दुई कुमारी आमाको घटना उदाहरण मात्र हुन् । दर्लिङका विभिन्न गाउँमा मात्र यस्ता आमाहरु ५ जना छन् ।
अन्तरजातीय विवाहको प्रलोभन देखाउँदै ३ वर्षअघि धुर्कोटवस्तु–३ का रामचन्द्र पाण्डेले १३ वर्षीय किशोरीसँग शारीरिक सम्बन्ध राखे । किशोरी गर्भवती भएपछि दलितलाई बुहारी स्वीकार्नुपर्ने बाध्यताले पाण्डे परिवारले गाउँ नै छाडेपछि युवती लामो समय अलपत्र परिन् । धेरै समय माइतीमै बसेकी ती किशोरी अहिले ज्योती व्यावसायिक तालिम केन्द्र पोखराबाट तालिम लिएर उतै बसेर बच्चा हुर्काउँदै छिन् ।
बलिथुम– ३ की १७ वर्षीया बिजुली सुनार छिमेकी रामबहादुर श्रेष्ठको प्रेम नाटकमा परिन् । विवाहित श्रेष्ठको सम्बन्धबाट १४ वर्षकै उमेरमा बच्चा जन्म्यो । त्यहीबेला गाउँबाट भागेका श्रेष्ठ अझै बेपत्ता छन् । न्याय माग्दा ज्यान मार्ने धम्की दिएपछि बिजुली गाउँबाट विस्थापित भएर सदरमुकाम आइन् ।
प्रेमको नाटकमा परेर बच्चा जन्माउने र बच्चा जन्मेपछि प्रेमी तथा घर परिवारले नस्वीकार्दा समस्यामा पर्ने किशोरी जिल्लामा झन्डै ३५ जना छन् । उनीहरु अधिकांश दलित परिवारका हुन् । कतिपय दलित भएकै कारण केही विवाहित प्रेमीले झुक्याएका कारण पीडित बने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us