एमाले–काँग्रेसको गठबन्धन कसरी पवित्र ? : गच्छदार

काठमाण्डु टुडे २०७१ असोज ३१ गते ११:४२ मा प्रकाशित

काठमाण्डु, ३१ असोज – मधेसी जनअधिकार फोरम लोकतान्त्रिक अध्यक्ष विजयकुमार गच्छदारले २२ दलीय मोर्चालाई अपवित्र गठबन्धन भनेको भन्दै कांग्रेस- एमालेको आलोचना गरेका छन् ।

Upendra-Yadav२२ दलीय मोर्चाले शुक्रबार खुलामञ्चमा आयोजना गरेको जनसभामा बोल्दै अध्यक्ष गच्छदारले दुनियाँमा पहिलो र दोस्रो पार्टीको गठबन्धन बनेको छैन । अनि एमाले काँग्रेसको गठबन्धन कसरी पवित्र भयो ? भन्ने प्रश्न सोधेका हुन् ।

गच्छदारले संघीयतासहितको संविधान नबनेसम्म देशमा दीगो शान्ति स्थापना हुन नसक्ने बताए । ‘अन्यथा मुलुक मुठभेडमा जान्छ,’ उनले भने, ‘कांग्रेस एमाले बेलैमा सचेत होऊन् ।’ उनले संविधान बन्न नदिन आफूहरुले निहुँ नखोजेको बताए ।

सभामा बोल्दै मधेसी जनअधिकार फोरम नेपाल अध्यक्ष उपेन्द्र यादवले कुनै बेला पनि भीषण संघर्ष गर्नुपर्ने अवस्था आउने भएकाले जनतालाई तयार रहन आग्रह गरेका छन् ।

अध्यक्ष यादवले आफूलाई संविधानसभाबाट संविधान बन्नेमा विश्वास नभएको बताएका छन् ।

यादवले संघीयतासहितको संविधानका लागि २२ दलले निरन्तर संघर्ष गर्ने बताए । ‘मलाई विश्वास छैन, संघीयतासहितको संविधान बन्छ भन्ने, ’उनले भने, ‘हामी प्रयास सदनमा गर्छौं, संघर्ष सडकमा गर्छौं ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us