केन्द्रीकृत सत्ता लाद्ने सिंहदरबार भत्काउनुपर्छ : कुमार लिङदेन

काठमाण्डु टुडे २०७१ असोज ३१ गते १०:४३ मा प्रकाशित

काठमाण्डु, ३१ असोज – संघीय लिम्बुवान पार्टी अध्यक्ष कुमार लिङदेनले जनताको करमात्र असुलेर बस्ने सिंहदरबार भत्काउनुपर्ने बताएका छन् ।

Kumar-Lingden-small-for-web२२ दलीय मोर्चाले काठमाण्डुको खुलामञ्चमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै लिङदेनले ताप्लेजुङका जनतालाई वेवास्ता गर्ने र अलैचीको कर उठाएर केन्द्रीकृत सत्ता लाद्ने सिंहदरबार भत्काएर सबै अटाउने सिंहदरबार बनाउनु पर्ने घोषणा गरेका छन् ।

पूर्वी नेपालमा लिम्बुवान प्रदेशको माग गर्दै आइरहेको लिम्बुवान पार्टीले अरुण पूर्व लिम्बुवान स्वायत्त राज्य नभए आन्दोलन गर्ने लिङदेनले बताए । लिम्बुवान दिँदा देश नटुक्रिने दाबी गर्दै उनले भने, ‘लिम्बुवान सदा सदा नेपालमा रहन्छौं । हामीले बनाउने लिम्बुवान सबै जातजातिको साझा लिम्बुवान हुनेछ ।’

सिंहदरवारले लिम्बुवानलाई अस्वीकार गरे आफूहरुले पनि सिंहदरवारलाई नमान्ने उनले बताए ।

कांग्रेस र एमालेले समानुपातिक निर्वाचन प्रणालीलाई अस्वीकार गरेकोमा लिङदेनले आपत्ति जनाए । ‘कांग्रेस र एमालेले समानुपातिक काटेर जान्छ भने यो देशमा विद्रोह हुनेछ,’उनले भने, ‘त्यो विद्रोहको सुरुवात लिम्बुवानबाटै हुन्छ ।’

एमाओवादी, मधेसवादी र जनजाति पार्टीहरुको सहभागितामा आयोजित विरोधसभामा लिङदेनभन्दा पहिले बोलेका परशुराम तामाङले संविधानसभाभित्र मात्रै होइन, बाहिरका शक्तिको पनि सहमति लिनुपर्ने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us