काठमाण्डु, ३१ असोज – मलेसियाको अदालतले एक नेपाली महिलालाई गर्भपतन गराएको अभियोगमा कैद सजायँ सुनाएको छ ।
रोजगारीको सिलसिलामा मलेसिया पुगेकी नेपाली चेलीले असावधानीवस रहन गएको गर्भपतन गराउँदा अदालतले १० बर्ष कैदको सजायँ सुनाएकोहो ।
तामान सिकुस्थित एक पोलक्लिनिकमा गर्भको बच्चा मारेको अभियोगमा २४ बर्षीया निर्मला थापालाई ९ अक्टोबर दिउँसो ३ बजे प्रहरीले रंगेहाते पक्राउ गरेको बताएको छ ।
सोमबार यस्तो सजायँ पाएकी थापाले मलेसियन भाषामा लेखिएको सजायँ आफूले नबुझेको बताइन् । स्थानीय अदालतका न्यायाधीश मुसिरी पीटले उक्त सजायँ नबुझ्ने भाषामा भएपछि नेपाली द्वोभाषे सहित १२ नोभेम्बरमा निर्णय पुनर्बिचारका लागि मौका दिएको स्थानीय संचार माध्यमले जनाएका छन् । मलेसियाको कानुन अनुसार भरखर जन्मिएको बच्चा वा जन्माउनुअघिको बच्चा मारेमा १० बर्षसम्म कैदको ब्यवस्था छ ।
पेनाङ्ग राज्यको एक फ्याक्ट्रीमा कार्यरत थापाले कसको गर्भ हो भन्ने स्पष्ट नखुलाएको प्रहरीको भनाइ छ ।
मलेसियामा महिला वा पुरुष दुबैको सहमतिमा यौनसम्बन्ध राख्दा गर्भ रहन गई हजारौं महिलाहरुले पीडा भोग्नुपरेको एक श्रोतले बताएको छ । श्रोतका अनुसार मलेसियामा कार्यरत प्रवासी महिलाहरुलाई यो पीडाले बढि सताउने गरेको छ ।
यहाँ दिनहुँ यस्ता समस्या समाधानका लागि गर्भ तुहाउने औषधिको खोजीमा गर्ने या लुकीछिपी गर्भपतन गराउने महिलाहरु मेडिकलमा धाउने गरेको बताइन्छ।