यसरी रहन गयो माओवादी नेताका उपनाम

काठमाण्डु टुडे २०७१ असोज ३१ गते २:३४ मा प्रकाशित

काठमाण्डु, ३१ असोज– रुसी क्रान्तिका नेता भ्लादिमिर इलिइच उल्यानोव संसारभरका कम्युनिष्टका आदर्श पात्र हुन् ।
Prachanda and Kiranरुसी क्रान्तिकै नेता आयोसिफ भिसारिनोभी झगासिभिलीलाई पनि कम्युनिष्टले उत्तिकै आदर्श ठान्छन् । तिनै उल्यानोव हुन्, जसलाई विश्वले लेनिन भनेर चिन्दछ र झगासिभिलीलाई स्टालिन । लेनिन र स्टालिन उनीहरुका उपनाम थिए । तर, त्यही उपनामले उनीहरु विश्वविख्यात भए ।
कम्युनिस्टहरु जुन दिन कम्युनिष्ट सदस्य बन्छन्,‘ मैले मेरो जात, धर्म छोडें । म मानव जाति मात्र भएँ’ थर नभएको उपनाम राख्छन् । दश वर्षसम्म सशस्त्र जनयुद्ध गरेको माओवादीका नेताहरुका उपनाम अहिले पनि चर्चित छन् । एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपनामले चिनिए ।

माओवादी अध्यक्ष मोहन वैद्य किरण बने । एमाओवादी नेता बाबुराम भट्टराई लालध्वज, नारायणकाजी श्रेष्ठ  ‘प्रकाश’, केही समयअघि निधन भएका पोष्टबहादुर बोगटी ‘दिवाकर’,कृष्णबहादुर महरा ‘अमरसिंह’ ,नेकपा–माओवादीका नेता सीपी गजुरेल ‘गौरब’ ,रामबहादुर थापा ‘बादल’ ,देव गुरुङ ‘कान्छाबहादुर’ नामले चिनिए ।
यी नेताहरु मात्र होइनन्, माओवादीका अधिकांश नेता कार्यकर्ताको दुईभन्दा बढी उपनाम छन् ।

‘भूमिगत कालमा आफ्नो नाम एक्सपोज हुने भएपछि अर्को नाम राखिन्थ्यो’ एमाओवादीका तत्कालीन उपाध्यक्ष स्वर्गीय बोगटीले नाम परिवर्तनको कारणबारे विगतमा भनेका थिए ।
माओवादीका केही नेताको नामै रोचक छन् भने केहीको नाम जुराउँदाका क्षण कतिपयले शान्तिकालमा शान्ति सुहाउँदो र युद्धकालमा युद्ध सुहाउँदो नाम राखेका छन् । एमाओवादी अध्यक्ष प्रचण्ड सुरुमा कल्याण थिए, त्यसपछि उनी निर्माण, विश्वास हुँदै प्रचण्ड बने ।

कल्याणदेखि विश्वास हुँदासम्म शन्ति प्रक्रिया थियो, प्रचण्ड राखेर युद्धको नेतृत्व गर्दै उनी अगाडि बढे । एमाओवादी सचिव वर्षमान पुन सुरुमा ‘विमल’ थिए, युद्ध आक्रामक बन्दै जाँदा ‘विक्रान्त’ भए र युद्ध निरन्तर चल्ने देखेपछि ‘अनन्त’ भए ।

शान्ति प्रक्रियापछि भने माओवादी नेताका बास्तविक नाम नै स्थापित भएका छन् । एमाओवादीमा अध्यक्ष प्रचण्ड, सचिव  अनन्त, कोषाध्यक्ष शितलकुमार ,स्थायी समिति सदस्यहरु पासाङ, प्रभाकर, बलदेब उपनामबाटै बढी परिचित छन् । प्रचण्ड र सिपी गजुरेलले नाम साटेको चर्चा पनि छ । तर दुवैजना यो चर्चा गलत भएको बताउँछन् ।
नयाँ पत्रिकाबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us