विराटनगर, ३० असोज – सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतोले संविधान सहमतिको दस्तावेज भएकाले गणितिय आधारमा नभइ समय थपेर भएपनि सहमतिय आधारमा संविधान ल्याउनुपर्ने बताएका छन् ।
मोरङको विराटनगरमा विहीबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष महतोले कांग्रेस र एमालेले ल्याएको राज्य पुनसंरचनाको खाका आफूहरुलाई मान्य नहुने धारणा राखेका हुन् ।
‘मधेसी जनताको भावनालाई सबैले स्वीकार्नु पर्छ यदि मधेसी जनताको भावना विपरित संविधान जारी भए आन्दोलनको आँधीबेहरी सृजना हुनेछ,’ भने ।
एक मधेस एक प्रदेश संविधानमा समावेश नगरिए मुलुक टुक्रिने बताएका छन् । मधेस प्रदेश आफूहरुको बटमलाईन भएको पनि उनले जानकारी दिए ।
आफूहरु छुटै देशको पक्षधर नरहेको उनले स्पष्ट पनि पारे । अध्यक्ष महतोले छुट्टै देश नभई नेपाल भित्रै अधिकार सम्पन्न स्वायत्त मधेश प्रदेश स्थापना हुनुपर्ने उनको भनाई थियो ।
विगतमा भएका सहमति र सम्झौतालाई लत्याएर नयाँ संविधान जारी गरिए त्यस्तो संविधानलाई मधेशले नस्वीकार्ने उनले चेतावनी दिए । ‘विगतको सम्झौता अनुसार मधेश एक प्रदेश हुनुपर्छ,’ महतोले भने ।