२२ दलको आन्दोलनलाई जनताले साथ दिँदैनन्: कोइराला

काठमाण्डु टुडे २०७१ असोज ३० गते ५:३५ मा प्रकाशित

झापा, ३० असोज– प्रधानमन्त्री सुशील कोइरालाले शान्ति खल्बलिने काम नगर्न आग्रह गरेका छन् ।
sushil झापाको विर्तामोर्डमा बुधबार थारु कल्याणकारिणीसभाको महाधिवेशन उदघाटन गर्दै कोइरालाले शान्ति खलबलिने काम भए सरकार चुप लागेर नबस्ने बताए । उनको संकेत एमाओवादीसहित २२ दलीय मोर्चाले सुरु गरेको आन्दोलनप्रति थियो ।
आन्दोलनका नाममा हुने तोडफोड र द्वन्द्वले बिनासको अवस्था आउने उनको भनाइ थियो । उनाले जनजातिहरुले अधिकार पाइसकेको भन्दै द्वन्द्व भए अधिकार खोसिने जिकिर गरे । ‘सबै जातजातिका हक अधिकार सुरक्षित छन्’, कोइरालाले भने, ‘द्वन्द्व भयो भने त्यसले तपाईंहरुका अधिकार खोस्ने छ ।’

उनले सरकारले कसैलाई विभेद नगरेको दाबी गरे । कोइरालाले मुलुकले अब थप द्वन्द्व थेग्न नसक्ने भन्दै जनता द्वन्द्वको पक्षमा नरहेको प्रष्ट्याए । मुलुकले आन्दोलन नभई संविधान, स्थायित्व, शान्ति, र विकास खोजेको उनको भनाइ थियो ।

अर्को फरक प्रसंगमा कोइरालाले पूर्वनिर्धारित कार्यतालिका अनुसार ८ माघमै संविधान आउने दाबी गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us