बबरमहल दुर्घटनाका चालक भन्छन्, ‘झ्याप्प ब्रेक लगाउनु नै गल्ती’

काठमाण्डु टुडे २०७१ असोज ३० गते ४:४६ मा प्रकाशित

काठमाण्डु, ३० असोज– धुलिखेलबाट साँझ गाडी लिएर काठण्डुतिर हुइँकिएँ। गाडीमा १६ जना यात्रु थिए । भक्तपुरको ६ लेन सडकसम्म आइपुग्दा गाडी राम्रैसँग कुदिरहेको थियो ।

बानेश्वर कटेपछि सडक अलि ओरालो र गाडी पनि कमै गुडेका थिए । सिमसिम पानी परेको थियो । गाडी कति गतिमा हाँकेको थिएँ, थाहै भएन ।
बबरमहल पुगेपछि गाडीलाई ओभरटेक गर्दा सिमेन्टको स्ल्याब देखेर झ्याप्प ब्रेक लगाएँ ।

गाडी पल्टियो । म पनि गाडीसँगै लडेँ । यात्रुहरू चिच्याएको याद छ । लौ अब मलाई मार्ने भए भनेर ज्यान जोगाउन गाडीबाट बाहिर निस्केर दौडिँदै पुतलीसडकतिर लागे । बौद्धमा आफन्तको घर थियो । पुतलीसडकबाट माइक्रोबस चढेर त्यहाँ पुगें । हस्याङफस्याङ गर्दै पुगेपछि के भयो किन डराएको भनेर आफन्तले सोधे । के जवाफ दिने भन्ने भयो । एकैछिनमा थाहा पाइहाल्छन् भनेर सबै घटना सुनाएँ ।

किन यहाँ आएको पुलिसकोमा जाऊ भने । भोलि जान्छु भनेपछि बास दिए । भोलिपल्ट बस समितिबाट फोन आयो । तिमी पुलिसको शरणमा जाऊ भने । आउँदै गर्दा सिंहदरबार प्रहरीले नियन्त्रणमा लियो ।
मैले गाडी हाँक्न थालेको १२ वर्ष भयो । धुलिखेल–काठमाण्डु रुटमा मात्र १२ वर्ष भयो गाडी चलाएको । मेरो जीवनमा अहिलेसम्म यस्तो ठूलो विपत्ति आइलागेको थिएन । सोमबार बबरमहलमा झ्याप्प ब्रेक लगाउनु नै मेरो ठूलो गल्ती भयो । ब्रेक नलगाएको भए केही हुँदैनथ्यो सायद ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us