काठमाण्डु, ३० असोज– छोरी बलात्कार गरेको अभियोगमा ललितपुर जिल्ला अदालतले बुधबार एक बाबुलाई २० वर्ष जेल सजायको फैसला सुनाएको छ ।
ती बालिकाकी आमाले पतिविरुद्ध गत वैशाखमा प्रहरीमा किटानी जाहेरी दिएकी थिइन् । प्रहरी अनुसन्धानबाट उनले चार वर्षदेखि छोरीलाई जबरजस्ती गरेको खुलेपछि अदालतमा मुद्दा दायर भएको थियो । जाहेरीमा स्कुल नगएको मौका छोपेर डरत्रास देखाई बलात्कार गरेको उल्लेख थियो ।
अदालतको आदेशअनुसार अभियुक्त गत जेठ २२ गतेदेखि पुर्पक्षका लागि थुनामा थिए । पीडितको सामाजिक प्रतिष्ठालाई ध्यानमा राखेर प्रहरी र अदालतले नाम गोप्य राखेको छ ।
ललितपुर जिल्ला अदालतका न्यायधीश टेकनारायण कुँवरको इजलासले अभियुक्तलाई २० वर्ष जेल सजाएको फैसला सुनाएको हो ।
पीडितको मानसिक, शारीरिक र मनोवैज्ञानिक क्षतिपूर्तिका लागि राज्यका तर्फबाट स्वास्थ्य तथा मनोवैज्ञानिक परामर्श निःशुल्क उपलब्ध गराउन पनि अदालतले आदेश दिएको छ ।