झोले विद्यालय सञ्चालन गर्ने ३ जिशिअसहित ७ जनाविरुद्ध मुद्दा

काठमाण्डु टुडे २०७१ असोज २८ गते १२:३९ मा प्रकाशित

काठमाण्डु, २८ असोज – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झोले विद्यालय सञ्चालन गरी रकम हिनामिना गरेको आरोपमा  ३ जिल्ला शिक्षा अधिकारी सहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । धनुषाको जनकपुरमा एउटै व्यवस्थापन समिति र प्रधानाध्यापक सहितको टोलीले मिलेमतो गरी दुई झोले विद्यालयको नाममा बजेट दुरुपयोग गरेको आरोपमा मुद्दा दायर भएको हो ।

akhtiyarबजेट दुरुपयोगको आरोपमा काठमाडौंका जिशिअ शंकर बहादुर गौतम पनि निलम्बनमा परेका छन् । उनी धनुषाको जिशिअ हुँदा रकम दुरुपयोग भएको अख्तियारको दावी छ । अख्तियारले गौतम सहित जिशिअहरु उपेन्द्र मण्डल र राकेश श्रीवास्तवलाई पनि विपक्षी बनाएको छ ।

जनकपुर नगरपालिका- ४ मा रहेको रामजानकी राष्ट्रिय प्रावि र जानकी गुरुकुल प्राविको नाममा फर्जी विद्यालय खडा गरी रकम दुरुपयोग गरेको अख्तियारको दावी छ । दुवै विद्यालयको व्यवस्थापन समिती र प्रधानाध्यापक एउटै छन् । अख्तियारले समितीका अध्यक्ष बिल्टु मण्डल, प्रधानाध्यापक आनन्द कुमार मण्डल, लेखापालद्वय लालबाबु मिश्र र प्रल्हाद भुजेललाई विपक्षी बनाएको छ ।

अख्तियारले व्यवस्थापन समिती अध्यक्ष र प्रधानाध्यापकसँग १० लाख ३१ हजार रुपैंयाका दरले विगो मागदावी गरेको छ । जिशिअहरु श्रीवास्तव र गौतमसँग ३ लाख २ हजार रुपैंया विगो कायम गरिएको छ । अर्का जिशिअ मण्डलले ७ लाख ८ हजार रुपैंया भ्रष्टाचार गरेको अख्तियारको दावी छ । लेखापाल भूजेलले ९ लाख २८ हजार र मिश्रले ४ लाख १६ हजार भ्रष्टाचार गरेको अख्तियारको दावी छ । आर्थिक वर्ष २०६८र६९ र ६९र७० मा छात्रवृत्ति पाठ्यपुस्तक लगायतको शिर्षकमा बजेट दुरुपयोग भएको अख्तियारको दावी छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us