दाङ, २८ असोज – करेन्ट लगाएर माछा मार्न जाँदा एकको मृत्यु भएको छ । लमहीको अर्जुनखोलामा जेनेरेटरबाट करेन्ट लगाएर माछा मार्नेक्रममा आफैलाई करेन्ट लाग्दा चैलाही ३ कुलमोड निवासी ४२ वर्षीय प्रेमबहादुर पुनको मृत्यु भएको हो । पक्राउ पर्नेमा एमाअाेवादी महासचिव कृष्णबहादुर महराका छोरा निर्मल महरासमेत समातिएको प्रहरीले जानकारी दिएको छ ।
माछा मार्न गएका ९ जनामध्ये ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरुमा गणेश गिरी, श्रीधर अधिकारी, निर्मल महरा, ईश्वर जिएम, ईखबहादुर जिएम र गौरवबहादुर ग्वाङमगर रहेका वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरीक्षक लक्ष्मणबहादुर शाहीले जानकारी दिए ।
खोला तथा नदीमा करेन्ट लगाएर माछा मार्नु गैरकानुनी मानिन्छ । पक्राउ परेकाहरु दोषी देखिए जलचर संरक्षण ऐन २०१७ को दफा ११ अनुसार ५ हजार रुपैयाँसम्म जरिवाना हुने प्रहरीले जनाएको छ ।