तीन दिनमा सहमति नभए कार्यतालिका फेरिन्छ: प्रचण्ड

काठमाण्डु टुडे २०७१ असोज २८ गते ८:२२ मा प्रकाशित

काठमाण्डु, २८ असोज– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रमुख तीन दलबीच संविधानका विवादित विषयमा तीन दिनभित्र सहमति नभए Prachand-1संविधान निर्माण कार्यतालिका परिवर्तन हुने बताएका छन् ।
सत्तारुढ काँग्रेस–एमालेले संवैधानिक राजनीतिक तथा संवाद समितिको पछिल्लोपटक थप गरिएको समयसीमाभित्र सहमति नभए प्रक्रियामा जाने बताइरहेका बेला प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्डले यस्तो बताएका हुन् ।

आफ्नै निवास लाजिम्पाटमा मङगलबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले तीन दिनभित्र सहमतिको सम्भावना न्यून रहेको बताए । ‘सहमति नभए पनि संविधान निर्माणका विवादित विषय प्रक्रियाबाट टुंगिदैनन्’, उनले भने, त्यस बेला कार्यतालिकामा फेरबदल हुन्छ र फेरि सहमतिको प्रयास हुन्छ ।’

प्रचण्डले  काँग्रेस–एमाले पूर्वसहमतिबाट पछि हटेका कारण सहमति निर्माणमा जटिलता आएको बताए । उनले काँग्रेस–एमाले सहमति बनाउनभन्दा नबनाउनतिर गएको आरोप लगाए । बाहिर सहमतिका लागि वातावरण बन्दै गएजस्तो देखिए पनि भित्रभित्र सहमतिको सम्भावना ढाटिएको खुलासामसेत गरे ।

‘बाहिर हेर्दा दलहरु नजिक आएजस्तो देखिन्छ’, प्रचण्डले भने, ‘जनतालाई ढाँट्नु हुँदैन, विषयवस्तुमा नजिक होइन, टाढा गइरहेको स्थिति छ ।’
उनले सत्तारुढ प्रमुख दुई दलबीच २०४८ को संसदीय निर्वाचन प्रणालीलाई अपनाउने भन्ने सहमतिले आफूहरुलाई गम्भीर तुल्याएको उल्लेख गरे । काँग्रेस–एमालेले अघि सारेको ६ वा सात प्रदेशको संघीयताको प्रस्ताव परिवर्तनको भावनाविपरीत रहेको भन्दै त्यसलाई स्वीकार गर्न नसकिने उनले प्रष्ट्याए ।

उनले बहुपहिचानमा आधारित १० प्रदेश आफूहरुको बटम लाइन रहेको बताए । प्रदेश संख्या घटाउनु परे प्रमुख दलको सहमतिमा नभई सम्बन्धित क्षेत्रका दल, सरोकारवाला र बुद्धिजिवीहरुसँगको छलफलका आधारमा उनीहरुको सहमतिले मात्र गर्न सकिने उनको भनाइ थियो ।

‘लिम्बुवान र किराँत, ताम्सालिङ र नेवा वा तमुवान र मगरातका जनताले हामी मिलेर बस्न तयार छौं भने भने दुईवटा प्रदेशलाई साझा बनाउन सकिन्छ’, उनले भने, ‘तर हामीले मााथिबाट लादेर यो हुने अवस्था छैन ।’ प्रमुख दलको बैठकमा आफूले विकल्पमा रुपमा उक्त विषय राखेकामा तोडमरोड गरेर प्रचार गरिएको प्रचण्डले बताए ।

शासकीय स्वरुपमा आफूहरु प्रत्यक्ष निर्वातिक कार्यकारी राष्ट्रपतिकै पक्षमा रहे पनि संविधान बनाउने सर्तमा जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री स्वीकार्न तयार रहेको बताए । यद्यपि काँग्रेस–एमालेले पूर्वसहमति तोडेको अवस्थामा आफूहरुले पनि बटम लाइन नछाड्ने स्पष्ट गरे ।
अर्को एक फरक प्रसंगमा उनले २२ दलीय गठबन्धनले घोषणा गरेको आन्दोलनका कार्यक्रम नरोक्ने बताए । आन्दोलन सहमति भाँड्न नभई सहमति बनाउन भएकाले नरोकिने उनको भनाइ थियो । आफूहरुलाई बाहिरै राखेर गठबन्धन निर्माण गर्ने सत्तारुढ काँग्रेस, एमाले, राप्रपा, राप्रपा नेपाल र मालेले आफूहरुको गठबन्धनको विरोध गर्नुको तुक नरहेको उनको भनाइ थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us