काठमाण्डु, २८ असोज– जनकवि केशरी धर्मराज थापाको ९२ वर्षको उमेरमा निधन भएको छ ।
थापाको काठमाण्डु स्वयम्भूस्थित निवासमा बुधबार बिहान निधन भएको हो । थाापको जन्म पोखराको बाटुलेचौरमा विक्रम सम्वत १९८१ साउनमा भएको थियो ।
थापाका प्रजातन्त्रको काफल पाक्यो बरी लै, हरियोडाँडा माथि हलो जोत्ने साथी, हाम्रो तेन्जिङ शेर्पाले, चढ्यो हिमाल चुचुरा, आज मादल बजेको किन, गाउँबेसी दुनियाँ बिउँझाउन, धुरुधुरु नरोऊ आमा, तिम्रो आँसु पुछेर छाडौंला, घर सम्झी रोएको होला, डाँडाकाटी गएको नेपालीजस्ता कर्णप्रिय गीत गाएका छन् । उनले २०१३ सालमा राजा महेन्द्रबाट जनकवि केसरीको उपाधि पाएका थिए ।
२००८ सालमा कर्मचारीलाइ उक्साएर हड्ताल गरेको आरोपमा उनको गोरखापत्रको मुखिया जागिर खोसिएको थियो । उनले डा. केआई सिंहको विद्रोहलाई समर्थन गरेका थिए । थापाका १ सयभन्दा बढी गीत रेकर्ड भएका छन् । उनका गीत, कविता, लेख, साहित्य, संस्कृति, यात्रा संस्मरणसहित २९ कृति प्रकाशित छन् ।