
काठमाण्डु, २३ असोज- अभिनेत्री,निर्माता तथा निर्देशक रेखा थापालाई चलचित्र निर्माता संघले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ ।
राजधानीमा शुक्रबार मात्रै नयाँ नेपाली फिल्म रिजिल गर्ने सहमति कायम रहँदै आएकोमा रेखाले नियम मिचेर बुधबार नै आफ्नो फिल्म हिम्मतवाली प्रदर्शन गरेकी थिइन् । संघको नीति, नियम र हितविरुद्द गएकाले रेखालाई कारबाही गरिएको संघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
२३ साउन ०६० मा चलचित्र निर्माता संघ र चलचित्र संघबीच राजधानीमा नयाँ नेपाली फिल्म शुक्रबार मात्रै प्रदर्शन गर्ने सहमति भएको थियो ।
अहिलेसम्म सोही सहमतिका आधारमा फिल्म प्रदर्शन हुँदै आइरहेका छन् । तर रेखाले नियम तोडेकाले उनी र उनको कम्पनी रेखा फिल्मलाई संघबाट निस्कासित गरिएको छ ।