सिके राउतलाई सरकारले मधेसविरुद्ध उपयोग गरेको छ

काठमाण्डु टुडे २०७१ असोज ११ गते ९:५७ मा प्रकाशित

मधेसका एकजना विद्वान मुुलुक टुक्र्याउने अभिव्यक्ति दिएका कारण पक्राउ परेका छन्, यसबारे मौन बस्नु भएको छ, किन ?
upendra yadavयसमा दुवै कुरा गलत छन् । पहिलो देश टुक्र्याउने नारा गलत छ । अर्को कुनै कुरा बोलेकै कारणबाट पक्राउ गरेर सरकारले पनि गल्ती गरेको छ ।
मुलुक टुक्र्याउँछु भन्नेलाई पक्राउ गरेर सरकारले त ठिकै गरेको छ नि होइन र ?
कसैले हावाका भरमा बोल्ने बित्तिकै उसैको पछि लाग्नु र पक्राउ गर्नु राम्रो होइन । सीके राउतको मुद्दा मुलुक विखण्डनकारी नै हो तर, उनलाई समातेर राज्यले नै विखण्डनकारी मुद्दालाई स्थापित गर्ने भुल गरेको छ ।
त्यसो भए मुलुकको सार्वभौमिकतामाथि ठाडै चुनौती दिनेलाई सरकारले छुट दिनुपथ्र्यो ?

यस्तो कुरामा सरकारले वास्तै गर्नुहुने थिएन । तिनलाई पक्राउ गर्नुको कुनै अर्थै थिएन ।
किन पक्राउ गरेको होला त सरकारले त्यसै ?
संघीयताको विरुद्धमा राज्यले नै सीके राउतलाई प्रयोग गरेको हो । संघीयता नदिँदा त देश टुक्र्याउँछु भन्नेले संघीयतामा गयो भने पक्कै देश टुक्र्याइहाल्छ भन्ने गलत सन्देश प्रवाह गराएर त्यसैलाई स्थापित गराउने चालबाजी हो । ‘पब्लिक सेण्टिमेण्ट’ भड्काएर राज्यले संघीयता नदिने बाहना बनाउन खोजेको छ ।
यसमा देशबाहिरको शक्तिको चाहिं हात होला कि नहोला ?
यो मुद्दा सरासर गलत हो । यो संघीयता र मधेसको विपक्षमा आएको छ । यसमा विदेशी शक्ति वा क–कसको हात छ भन्ने कुराको जानकारी सरकारले जनतालाई दिनुपर्छ । सरकार भनेको यस्तो शक्तिशाली निकाय हो कि उसँग हरेक नागरिकका बारेमा पर्याप्त सूचना हुन्छ । अझ सिके राउतजस्ता वौद्धिक व्यक्तिका बारेमा त सरकार बेखबर हुने कुरै भएन ।
यसले मधेसका मुद्धालाई कमजोर पार्छ कि बलियो ?
समग्रमा मुलुककै सार्वभौमिकतामाथि प्रश्न उठाएको छ । संघीयताको मुद्दामाथि प्रश्न चिन्ह खडा गर्दैछ । मधेसी जनता नेपालको सार्वभौमसत्ता र अखण्डलाई अक्षुण राख्दै सिंगो नेपालभित्रै स्वायत्त मधेस प्रदेशसहित संघीयता र समावेशी गणतन्त्र चाहन्छ । त्यसकै लागि मधेसका जनताले समानताको लडाईं लडेका हुन् । मधेसका जनता विण्डनकारी होइनन्, देशभक्त र राष्ट्रवादी हुन । उनीहरु कहिल्यै विखण्डनका पक्षमा थिएनन् र हुने पनि छैनन् । राज्यले नै मधेसमाथिको शोषण कायम राख्न सीके राउतलाई प्रयोग गरेको देखिन्छ । होइन भने किन यति धेरै हाइलाइट गरिन्छ ? यो राज्यका तर्फबाट गरिएको ठूलो भुल हो ।
तर राउतले अन्तरिम संविधानलाई त ठाडै चुनौती दिएका हुन् नि देश टुक्र्याउने कुरा गरेर होइन ?
अन्तरिम संविधान जलाएर मेरो नेतृत्वमा मधेस विद्रोह भएको हो । अहिले हामी संविधान निर्माण प्रक्रियामा छौं । अहिलेको संत्रमणकालीन अवस्थामा कसैले बोलेकै आधारमा पक्राउ गर्नु भनेको संघीयताको मुद्दा नै विघटन गराउन खोज्नु हो । संक्रमणकालमा यस्ता धेरै विक्रिति आउँछन् । राज्यले संविधान निर्माणतर्फ ध्यान दिनुपर्छ । मान्छे पक्रेर हुँदैन । जनता अधिकार सम्पन्न हुने संविधान आएन भने यस्ता कुरा उठिरहन्छन् ।
मधेसी जनताले तपाईंहरु मधेसवादको नारा लगाएर काडमाण्डु आएर ठालु बन्नुभयो, तर सिके अमेरिकाको लाखौंको जागिर त्यागेर मधेसका लागि लड्न आए भन्छन् रे नि ?
के–का लागि त्याग ? देश बनाउन कि बिगार्न ? मुलुक विखण्डनको नारा लगाउनेलाई कसरी त्यागी भन्ने ? राष्ट्र विखण्डनका लागि होइन, राष्ट्र निर्माणमा लागि त्याग देखाउनु पर्‍यो । संघीय गणतन्त्र संस्थागत गर्न, समावेशीता सुनिश्चित गर्न र समाज बनाउनका लागि त्याग देखाउनुपर्‍यो नि, विखण्डनको नारा दिने कुरालाई कसरी त्याग भन्न सकिन्छ ?
त्यो भए उनको एजेण्डाका पछाडि मधेसका जनता किन लागे त ?
कुनै चाटुकारले रत्नपार्कमा नाटक देखायो भने पनि त हेर्नेको भिड लाग्छ । त्यस्तो भिडलाई जनमत भन्न मिल्दैन । तर केही मानिसहरु सिकेका पक्षमा छन् भन्ने सुन्दा मलाई पनि आश्चर्य लागेको छ । सिके राउत किन त्यस्तो मुद्धा बोकेर नेपाल आए त्यो पनि बुझ्न सकेको छैन । यसमा दुईवटा कुरा हुन सक्छ, एउटा मधेसमाथि जुन प्रकारको शोषण र उत्पीडन छ, त्यसले सिर्जना गरेको भावावेशमा आएर त्यस्तो कुरा गरेको हुनुपर्छ कि त कसैले उनलाई उपयोग गरेको छ । त्यसमा पनि दोश्रो सम्भावना बलियो देखेको छु ।
मधेसको लडाईं समानता र सामाजिक न्यायाको लडाईं हो । मुलुकको सार्वभौमसत्ता र अखण्डतालाई अक्षुण राख्न लडिएको लडाईं हो । हाम्रो लडाईं देशभक्ति र राष्ट्रवादको लडाईं हो । यही लडाईंको बलमा मुलुकमा गणतन्त्र र संघीतासहितको परिवर्तन सम्भव भएको हो । अहिले त्यो परिवर्तनलाई संस्थागत गर्ने बेला हो ।
जसरी तपाईं एकाएक मधेसबाट राष्ट्रिय राजनीतिमा छाउनुभयो, सिकेले भविष्यमा तपाईंको ठाउँ लिनसक्ने आंकलन गर्न थालिएको छ नि ?

म एकाएक राजनीतिमा आएको होइन । पञ्चालयत कालमा पुष्पलाल समूहबाट राजनीति थालेको हुँ । मैले माले, एमाले, माओवादी हुँदै जीवनका धेरै वर्ष कम्युनिष्ट आन्दोलनमा बिताएको छु । अर्को कुरा जहाँसम्म मेरो ठाउँ सिके राउतले लिने कुरा छ, त्यसमा म भन्छु कि मेरो ठाउँ मात्र किन मभन्दा अघि बढुन् न । मेरो उनलाई शुभकामना छ । मैले गर्न नसेकका बाँकी काम अरु कसैले गर्न खोज्छ भने म त खुसी हुन्छु । उसको स्वागत गर्छु । यो मेरा लागि टाउको दु:खाइको विषय हुन सक्दैन । मुल कुरा विभेद अन्त्य गरेर समृद्ध राष्ट्र निर्माण गर्नु हो । लोकतान्त्रिक नेपाल बनाउने कुरा मैले मात्र गरेर हुन्छ र ? मैले जति सक्छु त्यो गर्ने हो । अरुले जति सक्छ त्यो अरुले गर्छ । तर एउटा कुरा के प्रष्ट पार्न चाहन्छु भने सिके राउतले लिएको लाइनबाट मुलुक निर्माण हुन सक्दैन । यो घातक कुरा हो । राष्ट्रियता र राष्ट्रिय एकताको भित्रैबाट मुलुक निर्माणमा अगाडि बढ्नुपर्छ । सिके राउतले बुझ्नुपर्ने कुरा के छ भने उहाँको एजेण्डालाई मधेसका जनताले दुत्कार्छन् । मधेसका जनता जहिले पनि विखण्डको विपक्षमा छन् । नेपालको विखण्डन गर्ने कुरालाई मधेसले कहिल्यै साथ दिँदैन ।
सिके राउतका पछाडि अरु को–को होलान त ?
उनका पछाडि को–को छन् म भन्न सक्दिन । यो देश विचित्रको छ, यहाँ कसले कसलाई कतिखेर, के–का लागि प्रयोग गर्छ थाहै हुँदैन । सिके राउतको नाराका पछाडि ठूलै डिजाइन छ । उनको एजेण्डा षड्यन्त्रपूर्ण त छँदैछ, रहस्यमय पनि छ । म अहिले त्यसको अध्ययनमा लागेको छु ।

सरकारले उचालेको आरोप लगाउनुभयो, तर तपाईंहरुले पनि त सिके राउतको मुद्दालाई धेरै उचाल्नुभयो नि ?
त्यसमा हामीले के भनेका छौं र ? हामीले भनेको यत्ति हो कि सिकेलाई पक्रेर अनावश्यक रुपमा हिरो बनाउने काम गरियो । उनलाई छोड्दा केही फरक पर्दैन । अभिव्यक्ति दिएकै भरमा पक्राउ गरेर जिस्क्याउन र ठूलो मान्छे बनाउन हुँदैनथ्यो । सरकारले यस्तो बकम्फुसे कुरालाई किन बढी महत्व दिएको हो, मैले बुझ्न सकेको छैन । सरकारले उनलाई छोडिदिए हुन्छ । सीकेलाई गिरफ्तार गरेर तै पनि संघीयताको मुद्दा समाप्त पार्न सकिन्छ कि भन्ने मनोविज्ञानले काम गरेको देखिन्छ ।
अर्को कुरा उनले पनि देश टुक्र्याउने कुरा छोड्नुपर्छ । मेरो उनलाई सुझाव के छ भने मधेसमा विभेद छ । त्यसको अन्त्यका लागि लड्ने बाटाहरु धेरै छन् । तर उनले वकालत गरेको बाटो सर्वथा गलत छ ।
किन बेलाबेलामा मधेस टुक्रने कुरा उठ्ने गरेको होला ?
नेपाल विविधता भएको देश हो । विविधताभित्रैबाट राष्ट्रिय एकता खोजिनुपर्छ । त्यसका लागि विभेदको अन्त्य हुनुपर्छ । मानिसहरुले बेलाबेलामा आफू चर्चामा आउनका लागि विखण्डनको नारा लगाउने गरेका छन् । तर समयक्रममा त्यस्तो नारा आफैं कमजोर हुने गरेको छ । विखण्डनका पक्षमा तराईका जनता लाग्दैनन् । तराईका जनता नेपालभित्रै मधेस स्वायत्त प्रदेश चाहन्छन् ।
संविधानमा स्वायत्तताको कुरा राखिँदा विभिन्न मुलुक जनमतसंग्रहको वैधानिक बाटोबाटै टुक्रिएका छन्, कतै नेपालमा पनि त्यस्तो त हुँदैन ?
स्वायत्तता भनेको मानवअधिकारको अंग हो । आत्मनिर्णयको अधिकार सामाजिक र सांस्कृतिक अधिकार हो । नेपाल संयुक्त राष्ट्रसंघको सदस्य राष्ट्र हो । नेपालले आत्मनिर्णयको अधिकारका पक्षमा राष्ट्रसंघमा लिखित प्रतिबद्धता जनाएको छ । आत्मनिर्णयको अधिकार भनेको मुलुक टुक्र्याउने अधिकार होइन । जनमत संग्रहबाट टुक्रिएका सुडान र इण्डोनेसियाको संविधानमा टुक्रिन पाउने अधिकार थिएन । पाकिस्तानबाट बंलादेश अलग हुन पाउने कुरा संविधानमा थिएन । तर टुक्रियो । देश टुक्रिने वा नटुक्रिने भन्ने कुरा जनताको भावनामा निर्भर गर्छ । अहिलेजस्तै विभेद र असमानत रहिरह्यो भने के होला भन्न सकिन्न । विभेद भयो भने विद्रोह हुन्छ । विद्रोहले विग्रहको रुप लिन्छ । यो कसैले रोक्न सक्दैन । त्यसैले मुलुकको आन्तरिक राष्ट्रियता बलियो बनाउन आत्मनिर्णयको अधिकारसहितको संघीय गणतन्त्रको संविधान जारी हुनुपर्छ ।
माघ ८ मै संविधान आउला त ?
साँच्चै इमान्दारीपूर्वक लाग्ने हो भने किन बन्दैन ? संविधान लेख्ने काम त दुई दिनमै सकिन्छ । तर कस्तो संविधान बनाउने भन्ने कुरा हो । त्यसमा पहिला सहमति गर्नुपर्‍यो । बहुमतका आधारमा पेलेर जान्छु भन्ने हो भने संविधान बन्दैन र बने पनि काम लाग्दैन ।
आफूले भनेजस्तो संविधान आएन भने जलाउँछु भन्दै हिंड्नु भएको छ, पहिला पनि अन्तरिम संविधान जलाउनुभयो । संविधान जलाउने बानी परेको छ कि क्या हो ?
आन्दोलनले स्थापित गरेको समावेशीताको एजेण्डालाई स्थान नदिएपछि मैले विगतमा अन्तरिम संविधान जलाएको हुँ । त्यसको परिणाम के भयो ? मैले अन्तरिम संविधान नजलाएको भए के समानुपातिक, समावेशीता भन्ने कुरा राष्ट्रिय राजनीतिले ‘एड्रेस’ गथ्र्यो ? अहिले सबैले त्यसको फाइदा लिइरहेको अवस्था छ । संविधानसभाबाट जारी हुने संविधान जनताको पक्षमा भएन भने कसले मान्छ ? त्यस्तो संविधान जल्छ । त्यसैले हामीले जनताको हित हुने गरी विगतमा भएका सबै आन्दोलनका भावनाअनुसार संविधान बनाऔं भनेका हौं । आन्दोलनको भावना समेट्न सकिएन भने त्यस्तो संविधान काम लाग्दैन । प्रादेशिक स्वायत्तता र आत्मनिर्णयको अधिकारसहितको समावेशी संविधान हुनुपर्‍यो ।
सत्ता पक्षीय दलहरुले त सहमतिका लागि अधिकतम प्रयास गर्ने नभए प्रक्रियाबाटै भए पनि माघ ८ मा संविधान जारी गर्ने कुरा गरिरहेका छन् नि ?
सत्ताको मात लागेकाहरुले प्रक्रियाको कुरा गरेका होलान् । सत्ता र शक्तिको मातको भाषाले मुलुकमा शान्ति र स्थिरता आउन सक्दैन ।
तर दुई तिहाईको म्याण्डेट त उनीहरुलाई छ नि ?
चुनावमा आर्मी लगाएर पाएको म्याण्डेटभन्दा जनआन्दोलन र मधेस विद्रोहको म्याण्डेट ठूलो हो । आर्मीको हतियारको बलमा पाएको म्याण्डेटको कुनै अर्थ छैन । जनताले त्यस्तो म्याण्डेटलाई धोती लगाइदिन्छन् ।
तर, चुनावमार्फत जनताले तपाईंहरुको एजेण्डा अस्वीकार गरेका होइनन् र ?
हाम्रा मुद्दा अहिले पनि जीवितै छन् । जनताले मुद्दा छाडेको होइन । चुनाव मात्र जनमत नाप्ने अन्तिम अस्त्र र आधार होइन । कहिले काहींं शासकहरुले जनमत उल्ट्याउने गरेका छन् । २०३७ सालमा भएको जनमतसंग्रहमा स्पष्ट रुपमा बहुदल पक्षले जित हासिल गरेको थियो । तर निर्दलले जितेको घोषणा गरियो । जनताको म्याण्डेट त निर्दललाई जिताउने थिएन नि । त्यतिखेर जितेको भनिएको निर्दल १० वर्ष पनि टिक्न सकेन । निर्दल त गयोगयो निर्दललाई आडभरोसा दिने राजतन्त्रकै जरोकिलो उखेलियो । के ठीक के बेठीक भन्ने समयले देखाउँदै जाने कुरा हो । हाम्रो एजेण्डा कहिल्यै मर्दैन ।
८ माघमा संविधान आएन भने के हुन्छ ?
आकाश खस्ने र पाताल भासिने हुँदैन । माघ ८ को अर्को दिन माघ ९ आउँछ । जनताले दिएको संविधान निर्माणको समयसीमा भनेको चर वर्षको हो । माघ ८ नै संविधान जारी गर्ने ठूलै शुभमुहुर्त जसरी प्रचार भइरहेको छ । त्योभन्दा केही दिन अगाडि आए पनि र केही समय पछाडि आए पनि फरक पर्दैन । सबैको अपनत्वसहितको राम्रो संविधान बनाऔं । दुई चार दिन, दुई चार महिना ढिला भएर केही फरक पर्दैन । हतार–हतार जसरी पनि एक थान संविधान माघ ८ मै फाल्दिउँ भन्ने कुरामा सहमत हुन सकिंदैन । अहिल्यैदेखि इमान्दारीपूर्वक लाग्ने हो भने माघ ८ मा संविधान जारी गर्न नसक्ने पनि होइन । त्यसका लागि पर्याप्त समय छ । तर बहुमतको आडमा बलजफ्ती संविधान जारी गरियो भने मुलुकमा द्वन्द्व हुन्छ ।
कस्तो द्वन्द्व ?
पहिचान र संघीयतापक्षधर तथा त्यसको विरोधी शक्तिबीच द्वन्द्व हुन्छ । यस्तो द्वन्द्व हुनेवाला छ कि त्यो सत्ता पक्षले धान्नै सक्दैन, पूरै देशका जनता सडकमा आउँछन् ।
जनता त थाकिसकेका छन्, कसैलाई सत्तामा पुर्‍याउन जनता सडकमा आउने मनस्थितिमा देखिंदैनन ?
जनविरोधी संविधान बन्यो भने जनता सडकमा आउँछ । अधिकार प्राप्तिका लागि जनता अगाडि आउँछन् । जनता कहिल्यै थाक्दैनन् । जनताको बललाई रोक्ने ताकत कसैसँग छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us