
काठमाण्डु, १० असोज– आर्थिक संकट बेहोरिरहेको सरकारी स्वामित्वको साझा प्रकाशनका कर्मचारीले सात महिनादेखि तलब पाएका छैनन् ।
दसैंमा कर्मचारीलाई एक महिना बराबरको तलब खुवाउनुपर्ने हुँदा संस्थानलाई यतिबेला आठ महिना बराबरको तलब जुटाउनुपर्ने बाध्यता छ ।
आर्थिक अभावले दैनिक गतिविधि शून्य भए पनि कर्मचारीलाई तलब खुवाउनुपर्ने बाध्यता छ । नेपाली भाषा र साहित्यको विकासका लागि स्थापना भएको यो संस्था आर्थिक संकटका कारण बन्द हुने अवस्थामा पुगेको छ ।
साझा प्रकाशनका महाप्रबन्धक तथा शिक्षा मन्त्रालयका सह–सचिव दिवाकर ढुंगेलले भने ,‘ऋण सहायता पाउनका लागि अर्थ मन्त्रालयसँग छलफल भइरहेको छ । पाउने हो कि होइन, टुंगो छैन,।’ ढुंगेलका अनुसार अर्थ मन्त्रालयसँग ३० करोड सहायता माग गरिएको छ ।